उपत्यका बाहिर जान १० दिन क्वारेन्टाइनमा बस्ने पालिकाको पत्र अनिवार्य
काठमाडौँ — काठमाडौं उपत्यका बाहिर जानका लागि १० दिन क्वारेन्टाइनमा बस्ने सम्बन्धित स्थानीय तहको सिफारिस अनिवार्य हुने भएको छ । मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सम्बन्धित गाउँपालिका वा नगरपालिकाले अनिवार्य रुपले १० दिन क्वारेन्टिन राख्ने प्रतिबद्धतासहितको सिफारिसका आधारमा मात्र जान दिने निर्णय गरेको हो ।
काठमाडौं उपत्यकामा निषेधाज्ञा सुरु भएको वैशाख १६ गतेको अघिल्लो दिन नयाँ बसपार्कमा यात्रुहरु गाडी पर्खाइमा । फाइल तस्बिर स् कान्तिपुर
त्यस्तै पत्रकार तथा सञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासका आधारमा आवतजावतमा सहजीकरण गर्ने र विभागको प्रेस पास नभएका सञ्चारकर्मीरकर्मचारीको हकमा सम्बन्धित सञ्चार गृहहरुले न्यूनतम कर्मचारीहरु मात्र खटाउने र सोको विवरण जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउनु पर्ने निर्णय गरिएको छ ।
बैठकले वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञालाई झन् कडा पार्दै २९ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।बैठकले बैंक तथा वित्तीय संस्थाको हकमा काठमाडौं उपत्यकामा २५ प्रतिशत शाखा कार्यालयहरु मात्र खुला गर्ने र केन्द्रीय कार्यालयहरुले २० प्रतिशत मात्र जनशक्ति प्रयोग गरी कार्य सञ्चालन गर्ने व्यवस्था मिलाउने र सो को विवरण नेपाल राष्ट्र बैंक जिल्ला प्रशासन कार्यालयलाई दिनुपर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।