एमाले नेता नेपालको दौडधुप, ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी
काठमाडौं-एमाले वरिष्ठ नेता माधवकुमार नेपाल दौडधुपमा लाग्नु भएको छ । नेता नेपालले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटगर्नु भएको छ । कांग्रेस सभापति देउवासँग एक घण्टा वार्तालापपछि नेपाल राष्ट्रपति भण्डारीसँग भेट गर्न शीतल निवास पुग्नु भएको हो ।
नेपाल विश्वासको मत लिनुअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पक्षमा रहेको जनाइएको छ। यसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी (जसपा)का नेता उपेन्द्र यादव सहमत देखिनु भएको छ । देउवाले भने पहिला नेपाल पक्षका सांसदले राजीनामा दिनुपर्ने अडान लिएको जनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार देउवालाई भेटेर ‘अर्ली इलेक्सन’मा मिलेर जान प्रस्ताव गर्नु भएको थियो ।
नेपालले बुधबार माओवादी केन्द्रका अध्यक्ष दाहाल, जसपा नेता यादवसँग छलफल चलाउनु भएको थियो । नेपालले राष्ट्रियसभामा रिक्त पदमा आफूनिकट डा। खिमलाल देवकोटालाई उम्मेदवार बनाउने सहमति गराउनु भयो । माओवादी छाडेका गृहमन्त्री रामबहादुर थापाको रिक्त पदमा डा. देवकोटालाई उठाउने भएपछि एमालेबाट उम्मेदवार निश्चित हुन सकेको छैन। थापालाई उम्मेदवार बनाउने तयारी गरेको एमालेलाई विपक्षीले देवकोटा अघि सारेपछि दबाब बढेको छ।
एमालेको बिहीबार बसेको स्थायी समितिको बैठकले जित्ने निश्चित भएपछि मात्रै उम्मेदवार तय गर्ने निर्णय गरेको छ। बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले आफ्नो जित निश्चित भएपछि मात्रै उम्मेदवारी घोषणा गर्ने निर्णय भएको बताउनु भयो । ‘राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा जित सुनिश्चितताका लागि नेताहरूले विभिन्न सुझाव दिनुभएको छ’, प्रवक्ता ज्ञवालीले भन्नु भयो ‘मतदातासँग कुराकानीपछि उम्मेदवार घोषणा गर्ने निर्णय भएको छ।’ प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले यसअघि थापालाई नै उम्मेदवार बनाउने बताउनु भएको थियो ।
बिहीबारको बैठकमा नेपाल पक्षको कारबाही फिर्ता गर्नुपर्ने विषयमा ओलीलाई अन्य नेताले दबाब दिनु भएको छ । कारबाही फिर्ता गर्दा पनि विपक्षीको साथमा गए मात्रै थप कारबाही गर्नुपर्ने उहाँहरूको मत छ। वरिष्ठ नेता नेपालसहित चार जनालाई गरिएको कारबाही फिर्ता लिनेबारे छलफल भएको जनाइएको छ।