ओलीसँग कुनै सहमति भएको छैन :माधव नेपाल
काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफू पार्टीलाई एकतावद्ध बनाउन लचकता अपनाउन तयार रहेको बताउनुभएको छ । तर अहिलेसम्म अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सहमति नगरेको स्पष्ट पार्नु भउको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपालबीच सहमति भयो भन्ने विभिन्न सञ्चारमाध्यममा आएका समाचार प्रति स्पष्टीकरण दिँदै उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । ‘हामी सिद्धान्त निष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो। यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन।’
त्यस्तै नेपालले फागुन २८ पछि भएका बैठक र त्यसले गरेका निर्णय पनि फिर्ता हुनुपर्ने बताउनुभएको छ । उहाँले लेखेका छन्, ‘२०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो। यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं।’