राष्ट्रपतिलाई माधव नेपालको जवाफ : ओली एक्लै चल्ने, मलाई दोष ?
काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता जोगाउन पहल अध्यक्ष केपी शर्मा ओलीबाट हुनुपर्ने बताउनुभएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएपछि बिहीबार साँझ शीतल निवास पुगेका नेता नेपालले ओलीकै कारण एमाले यो अवस्थामा आइपुगेको बताउनुभएको छ ।
बिहीबार दिउँसो ओलीसँग भेटवार्ता गरेपछि राष्ट्रपति भण्डारीले नेता नेपाललाई फोन गर्नु भएको छ । अध्यक्ष केपी ओली र माधव नेपाललाई सँगै राखेर डिनरसहित कुराकानी गराउने योजना राष्ट्रपति भण्डारीले फोन गरेको नेता नेपाल निकट स्रोतले बतायो ।
‘तर बाहिर भ्रम पार्नेगरी मात्रै सँगै बस्ने कुराको अर्थ नहुने’ नेपालको जवाफ पछि राष्ट्रपति भण्डारीसँग छुट्टै कुराकानी भएको थियो । ‘धेरै लामो कुराकानी भएन । भएकै कुराकानी ठोस थिएन’, स्रोतले भन्यो ।
राष्ट्रपति भण्डारीले नेता नेपालसँग पार्टी एकता जोगाउन पहल नलिएको गुनासो गर्नु भएको छ । ‘तपाईं सिनियर नेता हुनुहुन्छ । तर पार्टी जोगाउनेगरी पहल लिनु भएन’, राष्ट्रपतिले नेता नेपालसँग पार्टी एकता जोगाउनेगरी पहल लिइदिन आग्रह गर्नु भएको छ ।
स्रोतका अनुसार नेता नेपालले उल्टै ‘केपी ओली एक्लै चल्ने अनि मलाई दोष दिएर हुन्छ ’ भनी प्रश्न गर्नु भएको थियो । ओली पार्टी अध्यक्ष भएकाले एकताको पहल पनि उहाँले नै गर्नुपर्ने नेता नेपालले बताउनुभएको छ । ‘म पार्टी प्रमुख हुँदा कहिल्यै यस्तो गरेको थिएँ मिलाएकै थिएँ’, नेता नेपालले राष्ट्रपतिसँग गरेको कुराकानीबारे स्रोतले भन्यो ।
नेता नेपालले २ जेठ २०७५ अगाडिकै एमाले पार्टी संरचना, विधान र नेतृत्वमा फर्किनुपर्ने आफ्नो बटमलाइन भएको बताउनुभयो । ष्ट्रपति भण्डारीले भने मिलेर जाने वातावरण बनाउन आग्रह गरिन् । गएको २८ फागुनमा अध्यक्ष ओलीले आफूनिकट नेताहरुको बैठकले पार्टी विधान संशोधन र नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि माधव नेपाल समूहले पनि समानान्तर गतिविधि गर्दै आएका छन् ।