शिवराजकी १६ बर्षे बालिका १ महिना देखि बेपत्ता
- दिपक के.सी. कपिलवस्तु साउन १८,
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ११ मैटहवा की १६ बर्षिय बालिका विगत १ महिना देखि बेपत्ता भएकी छिन । असार १४ गते बाट घरमा नआएको बालिकाको परिवारले जनाएको छ । विश्वराम गुप्ता (तेलि) र शिला गुप्ताकी छोरी सरिता (नाम परिर्वतन ) बेपत्ता भएकी हुन । छोरी हराएको एक महिना सम्म पनि सम्पर्क नआएको आमा शिला गुप्ताले बताइन ।
मेटहवा गाउँमै बस्ने जहदी घर भएको विनोद कुर्मिले आफ्नो छोरी भगाएको भन्ने जानकारी आए पनि छोरीको अवस्थाबारे कुनै जानकारी नआएको उनले बताइन । छोरी हराए पछि गाँउमा नै भद्र भलाद्मीले छलफल गरी छोरी ल्याइदिने भने पनि छोरी सम्पर्कमा नै नआएको उनले बताइन ।
हप्ता दिन सम्म पनि छोरीको अवस्थाबारे जानकारी नभएपछि वडा प्रहरी कार्यालय चन्द्रौटामा छोरी हराएको र खोजि गरि दिन निवेदन दिएको उनले जनाइन । “थानामा निवेदन दिएको पनि महिना दिन वित्यो अझै केहि पत्तो लागेन ” । भगाउने केटा समेतको जानकारी दिदाँ पनि प्रहरीले केटाकेटिलाई चौकी उपस्थित नगराएको उनले बताइन ।
गुप्ताको छोरी हराए पछि गाउँमा नै स्थानिय नेता तथा बुद्धिजीवीको बैठक बसेको र छोरीको खोजी गर्ने भन्ने कुरा भएको तर पत्ता लाग्न नसकेको स्थानिय नेता प्रेम रायमाझिले बताए । बालिकाको घर परिवारले भने नेताको सवारी चालकको भान्जा पर्नेले छोरी भगाएको हुनाले स्थानिय नेताको सहायता लिदाँ पनि छोरीको अवस्था बारेमा कुनै जानकारी नपाए पछि प्रहरीकोमा उजुरी दिएको बताए । प्रहरीमा उजुरी दिएको महिना दिन वित्दा पनि प्रहरी मौन रहेको गुप्ता परिवारले जनाएको छ । छोरी हराए पछि खोज्ने क्रममा आफ्नो दाईको दुर्घटनामा निधन भएकोले केहि दिन प्रहरी कहाँ जान नपाएको विश्वराम गुप्ताले बताए ।
यता वडा प्रहरी कार्यालय चन्द्रौटाले पनि उजुरी आए पछि केहि समय खोजी कार्य गरेको जनाएको छ । लामो समय सम्म परिवारबाट कुनै प्रतिक्रिया नआएपछि खोजी कार्य बालिका भेटियो भन्ने बुझाइमा रहेको वडा प्रहरी कार्यालय चन्द्रौटा प्रमुख मोतिलाल योन्जनले बताए । शनिबार मात्रै घर परिवार पुन सम्पर्कमा आएका छन अब हामी खोजी कार्यलाई तिब्र बनाउँछौ योन्जनले भने ।