माधव नेपाल समूहका सांसदले आज राजीनामा दिने,सत्ता जोगाउन ओलीलाई आज अन्तिम मौका
काठमाडौँ — केही दिनदेखिको वार्ता र छलफल कुनै निष्कर्षमा पुग्न नसकेपछि अन्तत नेकपा एमालेको माधव नेपाल समूहका सांसदहरुले आइतबार राजीनामा दिनुहुने भएको छ ।
माधव नेपाल- झलनाथ खनाल समूहका नेता र सांसदहरुको बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटीमात्र गर्न खोजेको र जति प्रयास गर्दा पनि सहमति हुन नसकेको भन्दै राजीनामा दिने निर्णय गरेको पार्टी स्रोतले बताएको छ ।
प्रधानमन्त्री ओलीले २७ गते सोमबार विश्वासको मत लिनका लागि संसद बैठक बोलाउनु भएको छ । कांग्रेस र माओवादीले ओलीलाई विश्वासको मत नदिने निर्णय यसअघि नै गरिसकेका छन् । प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ निर्वाचित नेपाल समूहका २० जना सांसदले राजीनामा गरेपछि ओलीले विश्वासको मतमा बहुमत पाउने संभावना छैन ।
माधव समूहका सांसदले राजीनामा गर्नासाथ संसदमा कायम सांसद संख्या घट्न गइ वैकल्पिक सरकार बन्ने सम्भावना पनि जीवित हुनेछ ।एमाले बरिष्ठ नेता माधव नेपालले कान्तिपुरसँग कुरा गर्दै आफूहरुले प्रधानमन्त्री ओलीलाई सच्च्याउन निकै प्रयास गरेको तर उहाँ नसच्चिएको बताउनु भयो । हामीले पार्टी एकतालाई बचाउने प्रयास गरेका हौं तर उहाँले दम्भ देखाउनु भयो, कत्ति पनि सच्चिन तयार हुनुभएन,ु नेता नेपालले भन्नु भयो ।
नेपाल समूहका एक नेताका अनुसार सुरुमा प्रतिनिधिसभामा प्रत्यक्ष तर्फका सांसदले मात्रै राजीनामा गर्ने कुरा भए पनि आइतबार समानुपातिक तर्फका सांसदले पनि राजीनामा गर्ने सम्भावना छ । नेपाल समूहमा ३५ जना सांसद रहनु भएको छ ।ओली र सो समूहका नेताहरूसँग पटक–पटक भएका छलफल निष्कर्षमा नपुगेपछि शनिबार अपराह्नदेखि लगातार ६ घन्टा खनाल–नेपाल समूहका नेताहरूको बैठक बसेको थियो । राति ९ बजेसम्म बसेको बैठकको निष्कर्ष छ, ‘महाधिवेशनबाट निर्वाचित कमिटीलाई भंग गरेर पार्टी एकता तहसनहस पारेका ओलीलाई संसद्मा विश्वासको मत दिनु पार्टी र लोकतन्त्रका लागि घातक हुनेछ, त्यसैले ओलीलाई सत्ताच्युत गर्न संसद्बाट बाहिरिनु अनिवार्य भएको छ ।’