माधव पक्षका ८ सांसद प्रधानमन्त्रीलाई विश्वासको मत दिन उपस्थित
काठमाडौँ -नेकपा एमालेको माधवकुमार नेपाल पक्षका केही सांसद पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन उपस्थित हुनु भएको छ । सोमबार बिहान बसेको नेपाल पक्षका सांसदहरुको बैठकले प्रतिनिधिसभाको विशेष अधिवेशनमा उपस्थित नहुने बताएको भए पनि केही सांसद भने उपस्थित हुनु भएको हो ।
बैठकमा नेपाल पक्षका ८ जना सांसद उपस्थितहुनु भएको हो । उपस्थित हुनेहरूमा राजबहादुर बुढा, ध्रुव शाही, गंगा चौधरी, समिना हुसेन, पार्वती विसुंखे, हिराचन्द्र केसी र बिना बुढाथोकी मगर रहनु भएको छ ।
उहाँहरुमध्ये बुढा, शाही र केसी प्रत्यक्ष निर्वाचित सांसद हो । सांसद कलिला खातुन भने केही समय बैठक स्थलमा गएर फर्किनु भएको छ । पार्टी अध्यक्ष समेत रहेका ओलीसँग असन्तुष्ट रहेको यो समूहले सोमबार बिहानसम्म संयुक्त रुपमा राजीनामा दिने बताएको थियो ।
तर, पार्टीभित्रैबाट राजीनामा दिन नहुने कुरा उठेपछि ओलीले मागेको विश्वासको मतमा समर्थन नजनाउने भन्दै बैठकमा नै उपस्थित नहुने निर्णय छ ।