Connect with us
Kapilvast Forest

दशगजा स्पष्ट नहुँदा समस्या

२०७६, २४ श्रावण शुक्रबारमा प्रकाशित

इलाम । नेपाल–भारत सीमा छुट्याउने दशगजा स्पष्ट नहुँदा भौतिक पूर्वाधार निर्माण गर्न समस्या भएको छ । पशुपतिनगर सीमा प्रशासन कार्यालयमा सीमा स्पष्ट पार्ने नक्सा र प्राविधिक टोली नभएकाले जनप्रतिनिधिले गृह मन्त्रालय र नापी विभागसँग तत्काल समाधानको पहलका लागि माग गरेका छन् ।

सन्दकपुर गाउँपालिका– २ र ४ स्थित सन्दकपुरमा प्रदेश सरकारले निर्माण शुरु गरेको भ्युटावर बीचमै रोकिएको छ । नेपाल–भारत सीमा क्षेत्रको दशगजा छुट्याउन नसक्दा निर्माण रोकिएको हो । ‘सीमा क्षेत्र छुट्याउन नक्सा र प्राविधिकको अभाव छ’, गाउँपालिका अध्यक्ष उदय राईले भन्नुभयो, ‘दशगजा कहाँ हो भन्ने स्पष्ट नभएपछि दुई देशका सीमा सुरक्षा अधिकारीले अहिले काम नगर्ने भनी सहमति जनाए पनि काम रोकिएको हो ।’

सन्दकपुर गाउँपालिकाकै गैरीबास कालपोखरी जोड्ने पर्यटकीय पदमार्ग निर्माणमा भारतीय सीमासुरक्षा बलले अवरोध गरेको थियो । स्थानीय सुरक्षा अधिकारीले स्थलगत अध्ययन गरेपछि काम पुनःसञ्चालन भएको छ । सूर्योदय नगरपालिका–२ चार माइल हुँदै भारत प्रवेश गर्ने बाटोमा भारतीय सुरक्षा बलले खाडल खनेको थियो । खाडल पुर्ने सहमतिपछि सडक पुरानै अवस्थामा सञ्चालित छ । दुवै देशको सीमा क्षेत्र स्पष्ट नछुट्टिएका कारण समस्या हुने गरेको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताउनुभयो ।

‘दशगजा क्षेत्रमा स्पष्ट छुट्टिने सहायक सीमा स्तम्भ छैनन्’, उहाँले भन्नुभयो, ‘दक्ष प्राविधिकको अभाव, नक्साको अभाव, सीमा स्तम्भ जीर्ण, दशगजामा खेतीपाती गर्नेलगायत समस्या यथावत छन् ।’ सीमा क्षेत्रमा विभिन्न पूर्वाधार निर्माण गर्दा समस्या हुने गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमसिनाले बताउनुभयो । ‘सीमा समस्याबारे गृहमन्त्रालय र नापी विभागसँग समन्वय भइरहेको छ’, उहाँले भन्नुभयो ।

सीमा क्षेत्र व्यवस्थित गर्न सडकको स्तरोन्नति र भारतपट्टि पनि भन्सार कार्यालय राख्न पहल गरिनुपर्ने सीमा सुरक्षा पोष्ट पशुपतिनगरका प्रमुख संशाकध्वज कार्कीले बताउनुभयो । “सीमा क्षेत्रको ५२ किलोमिटर क्षेत्रमा सडकको पहुँच छैन”, उहाँले भन्नुभयो, “सडक अभाव हुँदा सुरक्षाकर्मी पुग्न घण्टौँ लाग्ने गरेको छ ।” सरकारले पशुपतिनगरमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट स्थापना गरेपछि सीमा क्षेत्रका समस्या त्यही पोष्टले हेर्दै आएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu