ओली–नेपाल मिलनले राष्ट्रिय सभा उपनिर्वाचनमा विपक्षी गठबन्धनलाई धक्का
काठमाडौं – एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले असहयोग गरेपछि संघीय सरकार बनाउन नसकेको विपक्षी गठबन्धन राष्ट्रिय सभा उपनिर्वाचनमा पनि दबाबमा देखिएको छ । सत्तारुढ एमालेको आन्तरिक राजनीतिमा फेरबदल आएपछि राष्ट्रिय सभा उपनिर्वाचनमा गठबन्धनका उम्मेदवार जोखिममा परेका छन् ।
पार्टीको आन्तरिक विवाद समाधानउन्मुख देखिएपछि एमालेका तर्फबाट उम्मेदवार बनेका गृहमन्त्री रामबहादुर थापालाई ‘राहत’ भएको छ । तर, एमालेकै माधव नेपाल–झलनाथ खनाल समूहबाट प्रस्तावित भएका, तर स्वतन्त्र उम्मेदवारी दिएका डा। खिमलाल देवकोटालाई कठिन अवस्था पैदा भएको छ ।
कांग्रेस, माओवादी र जसपाको डा। बाबुराम भट्टराई–उपेन्द्र यादव समूहको समेत समर्थन लिएर उम्मेदवारी दिएका डा। देवकोटाबारे खनाल–नेपाल समूहले लिने अन्तिम निर्णयले उहाँको हारजितको सुनिश्चितता गर्नेछ । ओली र नेपाल कार्यदल बनाएर पार्टी विवाद टुंग्याउन सहमत हसनु भएको छ , जसले संघीय सरकार गठन गर्ने विपक्षी गठबन्धनको योजना असफल भएको थियो । स्रोतका अनुसार देवकोटालाई उम्मेदवार बनाउने नेपालको प्रस्तावमा देउवा र प्रचण्डले समर्थन गर्नु भएको थियो ।
बागमती प्रदेशमा आगामी ६ जेठमा हुने राष्ट्रिय सभाका एक सदस्यको उपनिर्वाचनमा एमालेकै दुईजना उम्मेदवार उठेपछि गृहमन्त्री थापा जोखिममा पर्नु भएको थियो । विपक्षी दलहरूको गठबन्धनले एमालेकै असन्तुष्ट पक्षका देवकोटालाई बनाएसँगै जोखिममा परेका गृहमन्त्री थापाका लागि चुनावी नतिजा आफ्नो अनुकूल बनाउन केही राहत त भएको छ, तर एमाले विवाद अझै अन्तिम सहमतिमा नपुगेकाले ढुक्क हुने अवस्था भने बनिसकेको छैन ।
पछिल्लो समय पार्टी एकता कायम राख्ने भन्दै ओली र खनाल–नेपाल समूहले वार्ता र संवाद थालेपछि थापाको जित्ने सम्भावना बलियो बनेको हो । एमालेका दुवै पक्षले पार्टीको उम्मेदवार थापा नै भएको बताएका छन् । खनाल–नेपाल पक्षका नेता तथा संघीय संसद्को प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता जीवनराम श्रेष्ठले एमालेको उम्मेदवार थापा नै भएको बताउनु भयो ।
‘खिमलालजीको उम्मेदवारी एमालेसँग सम्बन्धित विषय होइन । उहाँ विपक्षी दलहरूको साझा उम्मेदवार हुनुहुन्छ । प्रस्तावक र समर्थक नै कांग्रेस र माओवादी भएर उम्मेदवारी दर्ता गराउनुभएको छ,’ नेता श्रेष्ठले भन्नु भयो , ‘हाम्रो सद्भाव रहनु एउटा कुरा हो, हामी नेकपा एमाले भएर उहाँलाई समर्थन गरेका थिएनौँ, सक्दैनौँ ।’
श्रेष्ठले एमाले विभाजन भइसकेको अवस्था भएको भए फरक परिस्थिति हुने भए पनि पार्टी एकै भएको अवस्थामा आफ्नो कुनै भूमिका नरहने बताउनु भयो । उहाँले उम्मेदवार देवकोटा संविधानले कल्पना गरेको विज्ञ र राष्ट्रिय व्यक्तित्वका हिसाबले विपक्षी दलको मात्रै उम्मेदवार भएको र आफ्नो उम्मेदवार थापा नै भएको बताउनु भयो ।
देवकोटा एमालेकै बुद्धिजीवी संगठनमा आबद्ध व्यक्ति हुनुन्छ । यसअघि उहाँले एमालेकै तर्फबाट बागमती प्रदेशको योजना आयोगमा नियुक्त भएर पछि राजीनामा दिनु भएको थियो । विपक्षी गठबन्धनका तर्फबाट उम्मेदवार भएसँगै उनको पार्टी सदस्यतासमेत खारेज भएको श्रेष्ठको भनाइ छ । ‘उम्मेदवारी दर्ता गराएसँगै उहाँको बुद्धिजीवी संगठनबाट समेत स्वतः कारबाही भइहाल्छ । पार्टीको नियमअनुसार उहाँ पार्टीको सदस्य हो भनेर मान्नै भएन,’ उहाँले भन्नु भयो ।
तर, कांग्रेस नेता एनपी साउदले उम्मेदवारी फिर्ता नलिएसम्म आफूहरूले डा। देवकोटालाई नै मत दिने बताउनु भयो । ‘केपी ओलीविरुद्ध गठबन्धन बनाउने सल्लाह र प्रदेशको अंकगणितसमेत हेरेर डा। देवकोटालाई उम्मेदवार बनाउने सहमति भएको थियो । उहाँले उम्मेदवारी कायम राख्नुभयो भने हामी उहाँलाई नै मतदान गर्छौ“,’ उहाँले भन्नु भयो ।
विपक्षी गठबन्धन बचाउन भन्दै नेता नेपालले कांग्रेस र माओवादीसँग बागमती प्रदेशमा आफूले सिफारिस गरेको व्यक्तिलाई गठबन्धनको उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए । केन्द्रमा वैकल्पिक सरकार गठनमा लागेका कांग्रेस र एमालेले खनाल–नेपाल समूहलाई विश्वासमा लिन आफ्नो उम्मेदारी दिएनन्, डा। देवकोटालाई नै साझा उम्मेदवार मानेका थिए । प्रतिबद्धता भए पनि केन्द्रमा निर्णायक अवस्थामा वैकल्पिक सरकार बनाउन खनाल–नेपाल समूहले असहयोग गरेको निष्कर्षमा पुगेका विपक्षी गठबन्धनका नेताहरूले राष्ट्रिय सभा उपचुनावमा पनि खनाल–नेपाल समूहको भूमिकालाई शंकाले हेरेका छन् । नयाँ पत्रिका