घिउ दिएर सुत्केरी भेट्छन् वडाअध्यक्ष
गुल्मी। एक वडाअध्यक्ष घिउ लिएर सुत्केरी भेट्न जाने गरेका पाइएकाे छ । गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नं. ७ का वडाअध्यक्ष लोकप्रताप शाह वडाभित्र कुनै महिला सुत्केरी भएमा सुत्केरी भएको एक साताभित्र एक माना घिउ लिएर सुत्केरी भेट्न जाने गर्नुभएको छ। उहाँले सुत्केरी भएको समयमा जनप्रतिनिधि भेट्न जाँदा खाली हात नजान र सुत्केरी अवस्थामा घिउको आवश्यकता पर्ने भएकाले एक साता पुगेपछि जाने गरेको बताउनुभयो।
सबैको घरमा पौष्टिक आहारा र आर्थिक अवस्था सुदृढ नहुन सक्ने भएकाले यस्तो कार्यको थालनी गरिएको शाहले बताउनुभयो । यो कुनै प्रचारात्मक कार्य नभई सकारात्मक अभियान भएको उहाँको दाबी छ। आफूले सुत्केरी भेट्न जाँदा घिउ लिएर जाने कार्यलाई निरन्तरता दिँदै जाने उहाँले बताउनुभयो। उहाँले यो आर्थिक वर्षमा अहिलेसम्म छ जना सुत्केरीको घरमा एक मानाका दरले घिउ दिएर बधाईसमेत दिनुभएको छ।
महिलालाई स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउन आग्रह गर्दै आएको र महिलाको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिने गरेको उहाँकाे भनाइ छ । वडाअध्यक्षद्वारा वडामा राम्रो कामको थालनी भएको भन्दै निरन्तरता दिन जरूरी रहेकाे स्थानीयकाे भनाइ छ ।