चाउचाउ र बिस्कुटबाट शुरु भएको अभियान निःशुल्क खानासम्म
चितवन-भरतपुर महानगरपालिका–१२ मा कोठा भाडा गरी बस्ने एक युवतीको चाउचाउ र बिस्कुट अभियान अहिले आएर निःशुल्क खाना अभियानमा परिणत भएको छ ।
कोरोना कहरको समयमा काममा जाँदै गरेकी धादिङ जोगिमारा घर भएकी २३ वर्षिया पवित्रा रिजाल अहिले सडकमा रहेका बेसहाराहरुलाई खाना बनाएर खुवाउन तल्लिन हुनुन्छ ।
चौधरी ग्रुपको चाउचाउ डिलरमा काम गर्दै आएकी उहाँ काममा जाँदै गर्दा सडकमा भोका रहेकाहरुलाई निषेधाज्ञाको समयमा चाउचाउ बिस्कुट किनेर खुवाउने गर्नुहुन्थ्यो ।
उहाँले भन्नुभयो , “आजभन्दा २१ दिनअघि चाउचाउ बिस्कुटबाट शुरु गरेको खाना खुवाउने अभियान अहिले आएर निःशुल्क खाना सेवा अभियानमा पुगेको छ ।” मानिस रोगले भन्दा भोकले मर्ने देखेपछि उनी आफ्नो जागिरबाट राजीनामा दिएर मानव सेवामा लाग्नुभयो । जागिरबाट राम्रो कमाइ भएको भए पनि उहाँले त्योभन्दा भोकालाई खाना खुवाउँदा आफुलाई सन्तुष्टि मिलेको बताउनुभयो ।
उहाँले भन्नुभयो , “शुरुमा चाउचाउ बिस्कुट बाँढेँ । पछि माधव हमालसँग सल्लाह गरेर खाना बनाएर भोका मान्छे खोज्दै खाना खुवाउन थाल्यौँ ।” शुरुमा सडक छेउमा खाना बनाएर प्याकिङ गरेर रिक्सामा राखी खाना खान नपाएका मान्छेहरु खोज्दै हिडेको उहाँले सम्झिनुभयो । रिक्सामा राखेर खाना बाँड्न जाँदा समस्या भएपछि शुरुआतमा नारायणी नदी किनारमा खाना बनाएर खुवाउन थाले पनि पछि त्यहाँ छाडेर केन्द्रीय बस ट्रमिनल हाकिमचोकमा आएर खाना बनाउने र खुवाउने काम गरिएको उहाँले जानकारी दिनुभयो ।
खाना बनाएर हाकिमचोकमा ६५ जना र कमलनगर, नगरवन रोड, पुलचोक, लीलाचोक, बेलटाँडी र पोखरा बसपार्कसम्म खाना पु¥याउँदै भोकालाई खाना खुवाउने काम गरिएको हमालले बताइन् । अहिले एक छाकमा १२० जनालाई खाना खुवाउन थालिएको उहाँले जानकारी दिन भयो । बिहान १० बजे र साँझ ६ः३० बजे बेवारिसेहरुलाई खाना खुवाउने गरिएको छ । खाना बनाउने कार्यमा दैनिक आठ जना बिहान ६ बजेदेखि राति अबेरसम्म खट्ने गरेका छन् ।
बेसहारालाई खाना बनाएर खुवाउने गरेको थाहा पाएपछि घरधनीले कोठा छाड्न आग्रह गरेको पवित्राले दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो , “बेसहारालाई खाना खुवाउन हिँड्न थालेपछि घरबेटीले कोठा छोड्न भन्नुभयो । अहिले कोठा नछाडे पनि दिदीको घर थानिचोकमा बस्दै आएकी छु ।” अहिले निःशुल्क खाना सेवा अभियानमा भरतपुरका विभिन्न सङ्घ संस्था जोडिएकाले केही सहज भएको उहाँले जानकारी दिनुभयो ।
यस अभियानमा अहिले रिकभरी नेपाल वाग्मती प्रदेश, द युनाइटेड चितवन, न्यू वे फाउण्डेसन, युवा समाज भरतपुर, सन्देश फाउण्डेसन, निर्णय नेपाल काठमाडौँ र विश्व हिन्दू युवा सङ्घले सहयोग गर्दै आएका छन् । पछिल्लो सात दिनदेखि यी संस्था अभियानमा जोडिएसँगै स्मार्ट टिम चितवनको नाममा सेवा दिँदै आइएको अभियानका संयोजक दिवाकरराज श्रेष्ठले जनाकारी दिए । ती संस्था जुटेसँगै कोठा भाडामा लिएर बस्ने र दैनिक ज्याला मजदुरी गर्नेहरुलाई समेत खाद्यान्न वितरण गर्न थालिएको छ ।
खाना खान आएकी ४० वर्षीया विष्णुमाया शर्मा अहिले काम नपाएपछि यहाँ आएर खाना खाने गरेको बताउँछिन् । पहिला इँटा लोड र अनलोड गर्ने काम गर्दै जीविकोपार्जन गर्ने गरेको भए पनि कोरोना कहरका कारण जीवन चलाउन मुस्किल पर्ने गरेको उनको भनाइ छ । अहिले काम नभएपछि भाडा तिर्न नसकेर सडक पेटीमै बस्दै आएको उहाँले बताउनुभयो । जनकपुर घर बताउने उहाँ घर जान पाए घर गएर बस्ने बताउँनुहुन्छ ।
यस्तै तनहुँ घर भएका विनोद सिञ्जाली मगर अहिले काम नपाएपछि कहिले भोकै त कहिले यहाँ आएर खाना खाने गरेको बताउँछिन् । उहाँले भन्नुभयो , “काम खोज्न जाँदा कोरोना आयो भन्छन् । खानलाई समस्या पर्छ । बिहान बेलुका यहाँ आएर खाना खायो । दिनभरी यसै बस्नुपरेको छ ।”