Connect with us
Kapilvast Forest

सङ्क्रमण घटाउन निषेधाज्ञा प्रभावकारी

२०७८, २० जेष्ठ बिहीबारमा प्रकाशित

 

काठमाडौँ-कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू भएको एक महिनाभन्दा बढी भइसकेको छ । सङ्क्रमणको साङ्लो तोड्न लगाइएको निषेधाज्ञाको प्रभाव सकारात्मक परेको देखिएको छ ।

निषेधाज्ञा लागू भएको अघिल्लो दिन अर्थात् वैशाख १५ गते काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा दुई हजार ४७ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

जनस्वास्थ्य विज्ञहरूले एक महिनाको निषेधाज्ञापछि उपत्यकामा कोरोना सङ्क्रमण घट्न थालेको सङ्केत मिलेको बताउनुभयो । तर उहाँहरूले स्वास्थ्य मापदण्ड पालनामा लापरवाही नगर्न सचेत पनि गराउनुभयो । उपत्यकामा दैनिक थपिने सङ्क्रमितको सङ्ख्या सबभन्दा बढी वैशाख २६ गते झन्डै चार हजार दुई सय पुगेको थियो । यो सङ्ख्या घटेर जेठ १६ गते करिब एक हजार एक सयमा आइपुगेको छ ।

जेठ १९ गते बुधबार काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँमा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना गरी एक हजार ४५६ जना सङ्क्रमित थपिएका छन् । अहिले दैनिक थपिने नयाँ सङ्क्रमितको सङ्ख्या निषेधाज्ञा लागू हुनुभन्दा एक साता अघिको अवस्थामा आएको छ ।

यसैगरी वैशाख अन्तिमतिर काठमाडौँ उपत्यकामा झन्डै साढे ४२ हजार सक्रिय सङ्क्रमित थिए । बुधबार सक्रिय सङ्क्रमितको सङ्ख्या उपत्यकामा २४ हजार ६४६ मा झरेको छ ।

सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले उपत्यकासहित देशभर कोरोना सङ्क्रमितको सङ्ख्या घटेको बताउनुभयो । उहाँले निषेधाज्ञा जारी भएको एक महिनापछि सङ्क्रमितको सङ्ख्या घट्न थालेको भए पनि कोरोनाको जोखिम कम भयो भन्न नमिल्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सङ्क्रमितको सङ्ख्या घट्ने बित्तिकै बजार खुला गर्ने अवस्था हुँदैन । काम विशेषले बाहिर निस्कनेले पनि उत्तिकै होसियारी अपनाउनुपर्छ, सङ्क्रमण घट्यो भनेर लापरबाही गर्नुहुँदैन ।”

डा. बास्तोलाले निषेधाज्ञाको कडाइलाई कम गर्दै आकस्मिक सेवालाई प्राथमिकताका आधारमा क्रमशः खोल्न सकिने बताउनुभयो । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. वासुदेव पाण्डेले एक महिनाभन्दा बढी समय निषेधाज्ञा लागू हुँदा उपत्यकाभित्र दैनिक भेटिने सङ्क्रमितको सङ्ख्या एक हजार पाँच सयमा झर्नुले सङ्क्रमण घट्दो क्रममा रहेको भन्न सकिने बताउनुभयो तर परीक्षणको दायरा घटाएर घट्ने सङ्क्रमितको सङ्ख्याले भने खुसी नदिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सङ्क्रमितको सङ्ख्या घट्यो भनेर लापरबाही गर्ने बेला होइन, हामीले परीक्षणको दायरा बढाएको छ/छैन भन्ने विषय महìवपूर्ण हो” । विगत केही दिनदेखि लगातार थपिने सङ्क्रमितको तुलनामा निको हुनेको सङ्ख्या धेरै हुने गरेको छ । बुधबार पनि निको हुनेको सङ्ख्या नै बढी रह्यो ।

पछिल्लो २४ घण्टामा देशभर थप पाँच हजार ३१६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने थप सात हजार २१९ जना सङ्क्रमणबाट मुक्त भएका छन् । त्यसैगरी बुधबार नै १०१ जना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले विगत २४ घण्टामा १३ हजार ८०५ जनाको पीसीआर र तीन हजार ७३ जनाको एन्टिजेन विधिबाट कोभिड–१९ परीक्षण गरिएको जानकारी दिनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu