ओलीको वक्तव्य ‘जालसाजी:बेदुराम भुसाल
काठमाडौँ — नेकपा एमालेको माधव नेपाल समूहका नेता बेदुराम भुसालले आइतबार साँझ अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको वक्तव्य अर्को ‘जालसाजी’ भएको बताउनु भएको छ । अध्यक्ष ओलीको वक्तव्य सार्वजनिक भएलगत्तै नेता भुसालले यस्तो प्रतिक्रिया दिनु भएको हो ।
यो वक्तव्य अर्को एउटा जालसाजी हो । त्यहाँ जेठ ३ अघि फर्किने भने पनि नेकपा हुँदाकोलाई आधार मानेर फर्किने भनिएको छ,’ भुसालले भन्नु भयो , ‘मातहत पार्टी कमिटी र जनसंगठनहरु मूलभूत रुपमा जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशिल हुन्छन् भनिएको छ । मूलभूत शब्द प्रयोग गरिएको छ । हामीले सम्पूर्णरुपले भनेका छौं । त्यो भनेअनुसार भएन ।’
पार्टीलाई जेठ ३ पूर्वको अवस्थाबाट अगाडि बढाइने भन्दै वक्तव्यमा नेकपाको केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिएकालाई आधार मानेर एमाले केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने उल्लेख छ । ओलीले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा एमालेका सांसदहरुले गरेको हस्ताक्षर फिर्ताको प्रस्ताव गर्नु भएको छ ।
तर, सांसदहरुको हस्ताक्षर फिर्ता नहुने भुसालको दावी छ । ‘अदालतमा परेको रिट निवेदनमा सांसदहरुले गरेको हस्ताक्षर फिर्ता भनिएको छ, त्यो फिर्ता हुँदैन । त्यसकारण यो वक्तव्यको कुनै अर्थ छैन । यो अर्को पासो मात्रै हो,’ उहाँले भन्नु भयो ।नेता भुसालका अनुसार सोमबार दिउँसो बस्ने स्थायी कमिटीले थप छलफल गर्ने र त्यसको जवाफ दिने खनाल–नेपालसमूहको तयारी छ ।