Connect with us
Kapilvast Forest

२५ हजार बुझाए फार्मेसीको परीक्षा पास !

२०७६, ३२ श्रावण शनिबारमा प्रकाशित

३० साउन, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तरगत सञ्चालित सुनसरी प्राविधिक कलेजको परीक्षामा अनियमितता भएको सार्वजनिक भएको छ ।

तीन वर्षे ‘डिप्लोमा इन फार्मेसी’को पहिलो वर्षको भौतिकशास्त्र विषयको परीक्षामा उत्तर पुस्तिका नै फेरिएको पाइएपछि प्रहरीले ११ जना विद्यार्थीलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय, धरानका डीएसपी ढुण्डिराज न्यौपानेकाअनुसार, पक्राउ पर्नेमा एक पुरुषसहित १० जना महिला छन् ।

उनले अनलाइनखबरसँग भने, ‘दुई दिनअघि पक्राउ गरेर जिल्ला अदालत, सुनसरीबाट म्याद थप समेत गरिसकेका छौं ।’

अनुसन्धान अधिकृत स्रोतकाअनुसार, आफूलाई कलेजका अध्यक्ष लेखिराज लिम्बुका स्वकीय सचिव बताउने किरणराज भण्डारीको संलग्नतामा उत्तर पुस्तिका साटिएको पाइएको छ ।

स्रोत भन्छ, ‘भण्डारीको संलग्नता खुलेपछि जिल्ला अदालत, सुनसरीबाट पक्राउ पूर्जी जारी भइसकेको छ तर, उनी फरार छन् ।’

यसरी खुल्यो पोल

अनुसन्धान अधिकृतका अनुसार, सुनसरी कलेजको परीक्षा केन्द्र धरान–१९ स्थित किरातेश्वर माविमा थियो ।

शुक्रबार भएको परीक्षा निरीक्षणका लागि पुगेका केन्द्राध्यक्ष योगेन्द्र पालुङ्वाले परीक्षा दिइरहेका पाँचथरका ४३ वर्षीय केदारबहादुर खड्काको गोजीमा उत्तरपुस्तिका देखेपछि सोधपुछ गरेका थिए । ‘परीक्षा सुरु भएको डेढ घन्टापछि पुस्तिका भेटिएको थियो’, अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘हेर्दा उनी आफैंले लेखेको पुस्तिका गोजीमा राखेका रहेछन् ।’

स्रोतका अनुसार, त्यसवेलासम्म उनले बाहिरबाट ल्याएको उत्तरपुस्तिका आफ्नो कापीभित्र घुसाइसकेका थिए तर, स्टीज लगाउन भ्याएका थिएनन् । ‘बीचमा अर्को उत्तर पुस्तिका राखेपछि त्यही डोबमा स्टीज लगाउने गरेको देखिएको छ’, अनुसन्धान अधिकृत भन्छन्, ‘कभर पेज सक्कली नै हुन्थ्यो तर उत्तर लेखेको पेज चाहिँ बाहिरबाट ल्याएर राख्ने गरेको देखिएको छ ।’

उत्तरपुस्तिका कसरी कक्षा कोठासम्म पुग्यो भन्ने खुलेको छैन । यद्यपि, प्रारम्भिक छानविनमा हलमा बस्ने पर्यवेक्षकदेखि कलेजका अधिकारीको पनि संलग्नता हुनसक्ने देखिएको बताइएको छ । ‘पर्यवेक्षकको सहयोगविना हलसम्म अर्को उत्तर पुस्तिका पुग्नै सक्दैन’, एक अनुसन्धान भन्छन्, ‘फेरि एक जना मात्रै होइन, १५ जनाको उत्तर पुस्तिकामा फल्ट देखिएको छ ।’

स्रोतका अनुसार, परीक्षार्थी खड्काको गोजीबाट उत्तर पुस्तिका बरामद भएपछि अन्य विद्यार्थीको पनि उत्तर पुस्तिका जाँच गर्दा थप १५ जना विद्यार्थीको उत्तरपुस्तिका शंकास्पद भेटिएको थियो ।

ती मध्ये १० जना महिला पक्राउ परेका हुन् भने ५ जना फरार छन् । ‘उहाँहरुको उत्तरपुस्तिका हेर्दा अगाडिको पेजमा भएको अक्षर र भित्रको अक्षर मिलेन’, प्रहरी अधिकृत भन्छन् ।

उत्तरपुस्तिकाको वैज्ञानिक परीक्षणका लागि प्रहरी प्रयोगशालामा पठाउने प्रहरीको तयारी छ ।

२५ हजारमा उत्तर पुस्तिका ?

धरानका डीएसपी न्यौपानेकाअनुसार, उत्तरपुस्तिका कसरी तयार भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । ‘परीक्षा दिएको एक घन्टामै उत्तरपुस्तिका बुझाएर निस्किन पाइने रहेछ’, उनले भने, ‘त्यसैले प्रश्नपत्र बाहिर गएपछि उत्तर लेखेर पुस्तिका भित्र्याएको हुनसक्ने देखिएको छ ।’

कलेजका सञ्चालक लिम्बुको स्वकीय सचिव भण्डारीकै नेतृत्वमा यो काम भएको दाबी अनुसन्धान अधिकृतको छ । पक्राउ परेका एक विद्यार्थी दिएको बयानलाई आधार मान्ने हो भण्डारीले नै २५ हजार रुपैयाँप्रति व्यक्ति लिएर उत्तर पुस्तिका मिलाइने डिल गरेका थिए ।

‘उनको प्रस्ताव अस्वीकार गरेका केही विद्यार्थीले ५० हजारदेखि लाख रुपैयाँसम्म मागिएको भनेका छन्’, ती अधिकृत भन्छन् ।

प्रहरी अनुसन्धानमा असहयोग

अनुसन्धान अधिकृतकाअनुसार, कलेजले प्रहरी अनुसन्धानमा सहयोग गरेको छैन । यतिसम्म कि परीक्षा केन्द्रमा कति परीक्षार्थी सहभागी भएका थिए भन्ने विवरण समेत उपलब्ध गराएको छैन ।

विवरण माग गर्दै कलेजलाई लिखित पत्राचार समेत गरिएको थियो । तर, कुनै जवाफ आएको छैन । बरु कलेज सञ्चालक यो प्रकरणलाई लुकाउन राजनीतिक लबिङमा लागेको अनुसन्धान अधिकृत बताउँछन् ।

अनलाइनखबरसँग सम्पर्कमा आएका कलेज सञ्चालक सुब्बाले भने परीक्षा आफ्नो कलेजमा नभएको तथा परीक्षा केन्द्र तोक्ने र परीक्षा लिने काम पनि सीटीईभीटी भएकाले कलेजको दायित्व विद्यार्थीलाई केन्द्रमा पठाउने मात्रै भएको बताए ।

‘जहाँसम्म भण्डारीको कुरा छ । हामी कहाँ १४ सय बढी विद्यार्थी छन् । तीमध्ये कसको के नियत हुन्छ भन्ने थाहा हुँदैन’, उनले भने, ‘हामीले घटनामा संलग्नता देखिने वित्तिकै कर्मचारीलाई निस्कासित गरिसकेका छौं ।’

‘पैसा दिएर पास हुन्छु भन्ने सोच्ने विद्यार्थी पनि वेवकुफ हो । जुन घटना भयो, त्यसमा कोकसको संलग्नता छ, छानविन भएर कारबाही हुनुपर्छ’, उनले भने ।

साउन १७ गते सुरु भएको फार्मेसीको परीक्षा भदौ २२ मा सकिनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu