Connect with us
Kapilvast Forest

सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री नजाने

२०७८, २८ जेष्ठ शुक्रबारमा प्रकाशित

काठमाडौं -सभामुख अग्नि प्रसाद सापकोटाले संसद विघटनपछि उत्पन्न राजनीतिक परिस्थिति बारे छलफल गर्न भन्दै सर्वदलीय बैठक आव्हान गर्नु भएको छ ।

आज दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने सर्वदलीय बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समेत निमन्त्रणा पठाइएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनु भयो ।

न्यौपानेका अनुसार यो बैठकमा सबै दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीलाई बोलाइएको छ। नेतालाई पठाइएको निमन्त्रणा पत्रमा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने भनिए पनि यो बैठकमा संसद विघटनपछि अब के कसरी अघि बढ्ने बारेमा छलफल हुने बताइएको छ। सरकारले संसद विघटन गर्दै चुनाव घोषणा गरेपछि सभामुख सापकोटा असन्तुष्ट हुनु भएको छ । त्यसैले उहाँले बोलाएको यो बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रधानमन्त्री नजाने

सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन्। बैठकमा प्रधानमन्त्री ओलीलाई बोलाइएको भए पनि उहाँ नजाने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनु भयो ‘प्रधानमन्त्रीको नाममा पार्टी कार्यालयमा पत्र पुगेको रहेछ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबार हो’ सल्लाहकार थापा भ न्नुहुन्छ ‘प्रधानमन्त्रीलाई पत्र पठाउने त्यसरी होइन। भेटेर छलफल गर्ने हो। यसरी बोलाएको बैठकमा उहाँ सहभागी हुनुहुन्न।’

यता, एमालेका असन्तुष्ट खेमाको नेतृत्व गरिरहेका माधवकुमार नेपाल भने बैठकमा सहभागी हुने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी गठबन्धनमा बहुमत हुँदाहुँदै प्रक्रिया–पद्धति मिचेर संसद् विघटन गरेको भन्दै विपक्षी गठबन्धन १४६ सांसदको हस्ताक्षर लिएर अदालत पुगेको छ। मुद्दामाथि सुनुवाइ सुरु भएको छ। सभामुख जारी संवैधानिक र राजनीतिक संकटको समाधान के हुन्छ भनेर छलफलमा जुटिरहेका छन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj