Connect with us
Kapilvast Forest

एमालेको दुवै समूहका नेताहरू आन्तरिक छलफलमा

२०७८, ३१ जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं-पार्टीमा एकता कायम गर्न सम्वादमा रहेका नेकपा एमालेको दुवै समूहका दोस्रो तहका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।सोमबार अध्यक्ष केपी शर्मा ओली निकट नेताहरू ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ लगायत नेताहरु बालुवाटारमा छलफलमा जुटेका थिए । पार्टी एकताको अन्तिम गृहकार्यका निम्ति छलफलमा बसेको बालुवाटार निकट स्रोतले जनाएको छ ।

 

वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरुबीच पनि सोमबार लामै समय छलफल भएको छ । गोकर्ण बिष्टको निवासमा भएको छलफलमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य लगायत नेताहरू सहभागी थिए ।

एमालेको दुई समूहबीच पछिल्लो समय बाक्लो भेटवार्ता भएको छ, तर सहमति जुटिसकेको छैन । एक नेताका अनुसार सम्वाद भने सकारात्मक बन्दै गएको छ । ‘ठोस सहमति नभएसम्म भन्न सकिन्न । तर सकारात्मक वातावरण बनेको छ’, ती नेताले भने ।

अध्यक्ष ओलीले बनाएको दशौं महाधिवेशन आयोजक कमिटीलाई सर्वोच्च अदालतले मान्यता नदिएपछि छलफल झनै सघन बनेको छ । कर्णालीमा फ्लोर क्रस गर्ने चार सांसदलाई एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीले मात्रै कारबाही गर्नसक्ने भनी २७ जेठमा सर्वोच्च अदालतले आदेश दिएको थियो ।

त्यसपछि नै प्रदेश १ र वाग्मतीमा एमालेको दुवै समूह एकठाउँ उभिएर नीति तथा कार्यक्रम पारित भएको छ । गण्डकीमा पृथ्वीसुब्बा गुरुङ विश्वासको मत गुमाउँदै मुख्यमन्त्रीबाट पदमुक्त भएपनि एमाले सांसदहरु एक ठाउँ उभिएका थिए । त्यसअघि कर्णाली र सुदूरपश्चिम प्रदेशमा माधव समूहका सांसदहरुले विपक्षीसँग गठबन्धन गरेका थिए ।

‘हेल्लो (कुराकानी) भएको हो, तर त्यस्तो उल्लेख्य केही भएको छैन’, ओली समूहका नेता नेम्वाङले भने ।एमाले अध्यक्ष ओलीले एकताका लागि राखेको ६ बुँदे प्रस्तावमा नेता नेपालले पनि ६ बुँदे जवाफ फर्काएका छन् । यो प्रस्तावपछि औपचारिक वार्ता भने हुन सकेको छैन ।

ओलीको प्रस्तावमा राखिएको संसद् विघटन विरुद्धको सर्वोच्चमा पेश गरिएको २३ सांसदको हस्ताक्षर फिर्ता लिनुपर्ने विषयमा नेता नेपाल समूह सहमत हुन सकेको छैन । यसबाहेक सम्पूर्ण रुपमा २ जेठ २०७५ अगाडिकै एमालेमा फर्कनुपर्ने नेपाल समूहको अडान छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj