Connect with us
Kapilvast Forest

कानुन नै नबनी दमक नगरपालिकामा भूमि आयोग

२०७८, ६ असार आईतवारमा प्रकाशित

केन्द्र सरकारले भूमि व्यवस्था आयोग बनाएपछि मात्र खनाल नेतृत्वको आयोग विघटन

नेपालको संविधानको अनुसूची ८ मा स्थानीय तहले जग्गा धनीपुर्जा वितरण गर्न सक्ने व्यवस्था छ । भूमिसम्बन्धी अधिकार स्थानीय तहलाई मात्र होइन, प्रदेश र केन्द्रलाई पनि छ । स्थानीय तहले धनीपुर्जा वितरण गर्न सक्ने अधिकार भए पनि संविधान बनेको ६ वर्षसम्म यससम्बन्धी कानुन नै बनेको छैन ।

केन्द्रले कानुन नबनाएसम्म स्थानीय तहले जग्गा वितरणको केही काम गर्न पाउँदैनन् । तर, झापाको दमक नगरपालिकाले छुट्टै भूमि व्यवस्था आयोग गठन गरी जग्गा धनीपुर्जा वितरण गर्नेसम्मको कार्यविधि कार्यपालिकाबाट बनायो । स्थानीय तहमा निर्वाचित भएर आएको तीन महिनामै भूमि व्यवस्था आयोग गठन गरेर कार्यकर्ता व्यवस्थापन गर्‍यो । ०७४ असारमा निर्वाचित भएर आएका जनप्रतिनिधिले कार्यपालिका बैठकबाट तीन महिनापछि अर्थात् असोजमा एमालेका झापा–५ क्षेत्रीय कमिटी अध्यक्ष अम्बिका खनाललाई आयोगको अध्यक्ष बनाइयो । यसको पछाडिको एक मात्र कारण कार्यकर्ता व्यवस्थापन हो ।

कार्यकर्ता व्यवस्थापन गर्न आयोग बनाएको होइन : रोमनाथ ओली प्रमुख, दमक नगरपालिका

भूमिसम्बन्धी काम संघ, प्रदेश र स्थानीय तहको अधिकार छ । संघीय सरकारले भूमिसम्बन्धी काम गर्ने गरी हामीले छुट्टै काम गर्नु नपर्ने भएका कारण काम भएन । भन्नेले जे भने पनि काम गर्न नै आयोग बनाएका हौँ । कार्यकर्ता व्यवस्थापन गर्न होइन । तथ्यांक लिने काम आयोगले गरेको छ । आयोग विघटन नगरेपछि त अध्यक्षले पारिश्रमिक पाउने नै हुनुभयो नि ।

खनाल एमालेबाट दमक नगरपालिकाको प्रमुखको दाबेदार थिए । एमाले अध्यक्ष केपी ओलीले भतिज रोमनाथ ओलीलाई मेयरको टिकट दिँदा खनालले बागी उम्मेदवारी दिने चेतावनी दिएका थिए । त्यसैले कानुन नै नबनी खनाललाई कार्यपालिकाबाट अधिकारसम्पन्न आयोग बनाएर जिम्मेवारी सुम्पिइयो ।

०७४ कात्तिकबाट उनलाई मासिक २० हजार रुपैयाँ पारिश्रमिक दिने कार्यपालिकाले निर्णय गर्‍यो । २८ कात्तिकमा बसेको कार्यपालिका बैठकले खनालसहित मालपोत, नापी कार्यालय प्रमुख, एकजना वडाध्यक्ष, नगरपालिकाका नासु सदस्य सचिव र सबै राजनीतिक दलबाट प्रतिनिधित्व हुने गरी नौ सदस्य थपेर आयोगलाई पूर्णता दियो । कार्यपालिकाले बनाएको कार्यविधिले आयोगलाई सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने गरी अधिकार प्रदान ग¥यो । आयोगका अध्यक्षलाई पारिश्रमिक दिने निर्णय गरे पनि अरू सदस्यलाई भने प्रतिबैठक एक हजार रुपैयाँ भत्ता दिने निर्णय भएको थियो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले संघीय सरकारले कानुन नबनाई स्थानीय सरकारले जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने गरी आयोग गठन गर्न नमिल्ने जनाएको छ । स्थानीय तहले पनि सुकुम्बासीलाई जग्गा वितरण गर्न सक्ने गरी भूमिसम्बन्धी समस्या समाधान आयोगमार्फत कानुन बनाउने तयारी भर्खर मात्र गरिरहेको मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी टोलराज उपाध्यायले जानकारी दिए ।

‘संविधानले जग्गा धनीपुर्जासम्बन्धी अधिकार स्थानीय तहको अधिकारको सूचीमा कार्यक्षेत्र उल्लेख गरेको छ । तर, अहिले नै दिन सक्ने कानुन बनेको छैन । संविधानका अधिकारलाई ऐन बनाएर कार्यान्वयन गर्ने हो । अधिकारका बाँडफाँडलाई क्रमशः क्षमता विकास गर्दै हस्तान्तरण गर्ने मन्त्रिपरिषद्ले पनि निर्णय गरेको छ । कानुनी र संस्थागत र क्षमता विकास भएपछि मात्र संविधानका प्रत्येक प्रावधानहरूको कार्यान्वयन हुन्छ,’ उनले भने, ‘त्यो व्यवस्था कार्यान्वयन गर्न ऐन कानुन र स्थानीय तहको संरचना तयार भइसको छैन । हामी यो काममा लागिरहेका छौँ । अहिले नै स्थानीय तहले वितरण गर्न सक्दैन ।’

कामै नगरी अध्यक्षले बुझे ३ वर्षको पारिश्रमिक

भूमि आयोगको नाम कार्यपालिकाले केही महिनाभित्रै परिवर्तन गरेर घरजग्गा धनीपुर्जा वितरण आयोग बनायो । आयोगले कार्यविधिअनुसार काम पनि थाल्यो । आयोगले १० वटा बैठक गर्‍यो । अन्तिम बैठक २० फागुन ०७५ मा बस्यो । तर, दशौँ बैठक बस्दा पनि आयोगले केही काम गर्न सकेन । यसबीचमा उसले सुकुम्बासी र भूमिहीनको निवेदन मात्र माग्यो । कानुन नै नबनेका कारण काम गर्न नसकिएको आयोगका तत्कालीन अध्यक्ष अम्बिका खनाल बताउँछन् ।

‘हामीले केही निवेदन लियौँ । कार्यपालिकाले बनाएको कार्यविधिअनुसार काम गर्न पाएनौँ । निवेदन कम्प्युटरमा अपडेट गरेपछि सरकारको भूमिसम्बन्धी ऐनले आयोगले काम गर्ने अधिकार छैन भनेपछि हामी काठमाडौं गयौँ,’ उनले भने, ‘तर, तत्कालीन कानुनमन्त्री र भूमि व्यवस्थामन्त्रीसँग छलफल गर्दा हामीले धनीपुर्जा वितरण गर्न नसक्ने भन्ने कुरा आयो । स्थानीय तहले त समन्वयात्मक भूमिका मात्र खेल्न सक्छ भन्ने कुरा उहाँहरूले गर्नुभयो । हामीले जग्गा वर्गीकरण, सुकुम्बासीलाई धनीपुर्जा वितरण गर्न नसक्ने रहेछौँ । त्यही भएर काम गरेनौँ ।’

आयोगले केही काम नगरे पनि २० फागुन ०७५ सम्म १० वटा बैठक बस्यो । नौजना सदस्यले प्रत्येक बैठकको प्रतिव्यक्ति एक हजार रुपैयाँ भत्ता लिए । नगरपालिकाले गठन गरेको यो आयोग गैरकानुनी भएको जानकारी पाउँदापाउँदै नगरपालिकाले आयोग विघटन गरेन, बरू उल्टै अध्यक्ष खनाललाई पारिश्रमिक बढाएर दियो । सुरुमा मासिक २० हजार पारिश्रमिक बुझेका खनालले पछिल्लो एक वर्ष २४ हजार रुपैयाँ पारिश्रमिक लिन्थे । खनालले १५ माघ ०७७ सम्म पारिश्रमिक लिएका थिए ।

केन्द्र सरकारले भूमि व्यवस्था आयोग बनाएपछि मात्र नगरपालिकाले खनाल नेतृत्वको समिति विघटन गर्‍यो । त्यसवेलासम्म उनले काम नगरे पनि पारिश्रमिक निरन्तर बुझिरहेका थिए । खनाल आयोगको अध्यक्षको हैसियतमा धेरैपटक कार्यपालिकाको बैठकमा पनि आमन्त्रित सदस्यका रूपमा सहभागी भए । ‘काम नभए पनि नगरपालिकाले विघटन गरेन । नगरपालिकाले बनाएको वैधानिक समिति भएकाले विघटन नभएसम्म तलब पाइरहेँ,’ उनले भने, ‘विघटन नगरेका कारण मैले विभिन्न वडामा अध्यक्षका हैसियतले काम गरिरहेँ । कतिपय भूमिसम्बन्धी मुद्दामा छलफल पनि गरियो । त्यही भएर पारिश्रमिक लिएँ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu