चट्याङ लागेर बुवाको मृत्यु, छोरी र नातिनी घाइते
खोटाङ-चट्याङ लागेर खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी बास्तलाका ६९ वर्षीय अगमबहादुर राईको मृत्यु भएको छ।
आफ्नै घरमा चिया पिइरहेका समयमा बुधबार परेको चट्याङले उहाँको घटनास्थलमै मृत्यु भएको हो।
चट्याङले राईकी छोरी ४५ वर्षीया तारा र नातिनी १४ वर्षीया रचना बेहोश भएको स्थानीय बासिन्दा नारायण राईले जानकारी दिनु भयो ।
घाइते दुवैको सामान्यावस्था रहेको जनाइएको छ।घटना स्थलमा इलाका प्रहरी कार्यालय खोटाङ बजार र अस्थायी प्रहरी चौकी छितापोखरीबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताउनु भयो ।
शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउने तयारी गरिएको जनाइएको छ।
चट्याङको उच्च जोखिममा रहेको खोटाङमा हरेक वर्ष जनधनको क्षति भएपछि नियन्त्रण गर्न स्थानीय तहले विभिन्न ठाउँमा अर्थिङ जडान गरेका गरेका छन्।