भरतपुर महानगरको बजेट चार अर्ब ८१ करोड
भरतपुर – भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८र७९ को लागि चार अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ विनियोजन गरेको छ।
महानगरकी उपप्रमुख पार्वती शाह ठकुरीले बिहीबार आयोजित नवौँ नगरसभामा आगामी आवको बजेट प्रस्तुत गर्नु भएको हो । महानगरले चालु आव ०७७र७८ मा चार अर्ब १५ करोड ६४ लाखको बजेट ल्याएको थियो।
आगामी आवको लागि आन्तरिक आयबाट एक अर्ब २० करोड ९घरजग्गा रजिष्ट्रेशन, खानी तथा खानीजन्य पदार्थ बाँडफाँडबाट प्राप्त आयसमेत० र अन्तरसरकारी वित्तिय हस्तान्तरणबाट एक अर्ब ७७ करोड २९ लाख ८३ हजार रुपैयाँ प्राप्त हुने महानगरको अनुमान छ।
त्यसैगरी, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ४४ करोड ८२ लाख ८२ हजार, जनसहभागिताबाट ३० करोड, बैंक मौज्दात एक अर्ब, मर्मत सम्भार कोषबाट तीन करोड, सडक बोर्ड नेपालबाट तीन करोड र जिल्ला समन्वय समितिबाट तीन करोड प्राप्त हुने प्रक्षेपण गरिएको छ।
अधुरा योजनाहरुको निरन्तरताका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई दुई करोड र अन्य बाँकी योजनाहरुलाई ९८ करोड रुपैयाँ छुट्याइएको छ। वडाबाट हुने योजनाका लागि प्रति वडा एक करोड ७० लाखका दरले एकमुष्ट ४९ करोड ३० लाख रुपैयाँ विनियोजन गरिएको छ।
शहरी पूर्वाधार, भू–उपयोग तथा वस्ती विकास शिर्षकमा ४१ करोड छुट्याइएको छ जसमध्ये संघ तथा प्रदेशको साझेदारीमा महानगरको मुख्य प्रशासकिय भवन निर्माण गर्न १० करोड विनियोजन गरिएको छ।
शिक्षामा १२ करोड ५० लाख, महानगरपालिका कोभिड कोष स्थापना गर्न एक करोड ५० लाख, अन्य स्वास्थ्य सम्बन्धी कार्यक्रमका लागि नौ करोड, कृषिमा ८ करोड, पशुपंक्षी विकासतर्फ ८ करोड ७० लाख रुपैयाँ विनियोजन भएको छ।
युवाहरुको रोजगारी प्रवद्र्धन गर्न सहकारी तथा बैंकमार्फत लिने तीन लाख र पाँच लाख रुपैयाँको ऋणको ब्याजमा तीन वर्षसम्मको लागि क्रमशः शतप्रतिशत र ८० प्रतिशत अनुदान दिने कार्यक्रम सञ्चालन गरिने बजेट वक्तव्यमा भनिएको छ।
निजी क्षेत्रसँगको सहकार्यमा पूर्वाधार निर्माण गर्न तीन करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। नगरसभामा महानगर प्रमुख रेनु दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । दाहालले चालु आवमा ऐन, नियमावली, निर्देशिका र कार्यविधि समेत गरी ९८ वटा कानुन निर्माण गरेर कार्यान्वयनमा ल्याइएको बताउनु भयो ।
आगामी आवमा महानगरको मुख्य ९० किमी सडकमा स्मार्ट स्ट्रिट लाइट जडान कार्य सुरु गरिने र विद्युतीय सवारी साधनको लागि उपयुक्त स्थानमा रिफ्रेस सेन्टरसहितको चार्जिङ स्टेशन निर्माण गरिने उनले बताइन्।