Connect with us
Kapilvast Forest

सहज छैन जीवन बदल्न र परिवर्तन अनुभूत गराउन

२०७६, ३ भाद्र मंगलवारमा प्रकाशित

राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन ।
–जननेता मदन भण्डारी

‘आलस्यं हि मनुष्यणां शरीरस्थो महारिपुः ।
नास्त्युद्यमसमो बन्धुः कृत्वा यं नावसीदति ।।

आलस्य मानिसको शरीरमा हुने सबैभन्दा ठूलो शत्रु हो । कर्म समान मित्र अरु केही छैन । सत्कर्म मानव जीवन को सबभन्दा ठूलो साथी हो । कर्म गर्नाले जुन आनन्द जीवनमा प्राप्त हुन्छ त्यो अन्त कतैबाट प्राप्त हुँदैन । निरन्तर कर्ममा जुटिरहने मानिस कहिल्यै पनि दुःखी हुन्नन् । कहिल्यै निरास हुन्नन् । मान्छे अहिले सहज आर्जनमा रमाउन थालेका छन । विना श्रम र कर्मको आर्जनले मान्छे कुनै पनि बेला प्रताड़ित हुन्छ । त्यसैले कर्म गरेर फल खानुमा जुन आनन्द प्राप्त हुन्छ । त्यो आनन्द अन्त कतै प्राप्त हुँदैन ।

जीवन के हो ? भनिन्छ जीवन प्रकृतिको एक अनुपम वरदान हो । उपहार हो । यो दोहोरिएर आउँदैन । त्यसमा पनि मनुष्यको जीवन त प्रकृतिको अनेकौँ जीवनका प्रयोगपछि प्राप्त अनौठो आविष्कार हो । यो अनुपम आविष्कार प्रकृतिमाथिको मनुष्यको विजय पनि हो ।
मनुष्यको जीवन प्रकृतिमाथि शासन गर्न र पृथ्वीमा अरू नयाँ प्रयोग र आविष्कार अनि नयाँ चमत्कार स्थापित गर्न पनि हो ।

–पुरुषोत्तम पौडेल
नयाँ प्रयोग, आविष्कार अनि नयाँ चमत्कार स्थापित गर्न निरन्तर प्रयास र लगातार अनुसन्धान आवश्यक पर्छ । त्यो निरन्तरको संघर्ष र लगावबाट मात्र सम्भव छ । मनुष्य नै दुनियाँमा लडिरहेको एउटा अथक जीव छ जो जीवन बदल्न र दुनियाँ फेर्न अघि बढिरहेको छ । निरन्तर संघर्ष गरिरहेको छ । प्रगति पथका बाधा हटाउन अनि आफ्नो उचाई र मानव जीवनको सच्चाई जोगाई राख्न संघर्ष फेरि संघर्ष गर्दै अघि बढिरहेको छ र यो आवश्यक पनि छ ।

मानिस सामाजिक प्राणी हो । उ समाजमा रमाउछ । उ मानिसहरूको भिडमा मिलेर बस्न रूचाउँछ । मानिस समाजको एउटा अंग हो । उसको वृहत स्वरूप आजको विशाल संसार हो । आजको विकसित समाज हो । अनि अहिलेको आधुनिक सामाजिक व्यवस्था हो । यो विश्व आर्थिक सामाजिक व्यवस्था आफैँमा मानव मात्रको लामो संघर्ष, अध्ययन र अनुसन्धानको परिणाम पनि हो । समाजलाई अझ व्यवस्थित गर्न, विकसित गर्न अनि वैज्ञानिक ढंगले पुनः संरचना गर्नु आवश्यक छ । हाम्रो अध्ययन र अनुभवहरूका आधारमा सुन्दर, शान्त र सुसंस्कृत समाज निर्माण गर्न हाम्रोसमेत सचेत प्रयास आवश्यक पर्दछ ।आज दुनियाँमा पत्याउनै नसकिने अनेकौँ अनौठा चमत्कारको विकास भएको छ । विज्ञानले ठूला आविश्कारहरूको अनुसन्धान गरेको छ । मानिसहरूको इच्छा आकांक्षा र निरन्तर संघर्षकै परिणाम आजको ज्ञान विज्ञान र विकासको चमत्कार हो । चाहे ज्ञानको क्षेत्रमा होस् चाहे विज्ञानको विकास होस् । चाहे सामाजिक व्यवस्थामा होस् चाहे आर्थिक उन्नतिको क्षेत्रमा मानिसले गरेको विकास आश्चर्यलाग्दो छ । यो केबल मानव मात्रको लगन र मेहेनतकै परिणाम हो । यसको अझै विकास हुनु अनिवार्य छ ।

आज हामी एउटा नयाँ आर्थिक सामाजिक व्यवस्था प्रयोग गरिरहेका छौँ । मानिसले अहिलेसम्म आदिम साम्यवादी युग पार गर्यो । दास युगलाई उल्टाइदियो ।

सामन्ती युगलाई हामीले नेपालमै आफ्नै रगत र पसिनाको बल प्रयोग गरेर समाप्त पारिदियौँ । हामी अहिले नेपालमा जनताको ताकतबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र निर्माण गरेर त्यसको प्रयोग गरिरहेका छौँ । हामी आफैँले परिभाषित गरेको समाजवाद उन्मुख आर्थिक सामाजिक व्यवस्था विकासतर्फ अग्रसर छौँ । हाम्रो आजको सामाजिक व्यवस्था, राजनीतिक प्रणाली र दलहरूले गरेको प्रगति नेपाली मानव समाजको निरन्तर र सामुहिक संघर्षको उपलब्धी हो ।

सामन्तवादी सामाजिक व्यवस्था शोषणमा आधारित व्यवस्था हो । दास युगको विस्थापनपछि निर्माण भएको सामन्ती व्यवस्था पुरातन उत्पादन सम्बन्धमा आधारित पछौटे सांस्कृतिक आधारमा टिकेको व्यवस्था थियो । आधुनिक आर्थिक सम्बन्ध र विज्ञानको नयाँ आविष्कारसँगै सामन्ती व्यवस्था कमजोर हुँदै गयो र जनताको दबाब बढ्दै गएपछि गल्दै गयो । सामन्ती व्यवस्थाका प्रतिनिधि राजासँगै त्यसले धानेको सामन्ती शोषणमा आधारित आर्थिक सामाजिक ढाँचा एकैपटक तासको महल झैँ गर्ल्यामगुर्लुम्म ढल्यो । त्यही सामन्ती व्यवस्थाको जगबाट पूँजीवादी जनवादी आर्थिक सामाजिक ढाँचा हुँदै मार्क्सवादी विचार र दृष्टिकोणसहितको समाजवादी व्यवस्थाको स्थापनातर्फ अघि बढ्ने सम्भावनाको ढोका खुलेको छ । यो दुनियाँको मानव इतिहास र संघर्षकै परिणाम हो ।

मार्क्सले भनेको ‘मान्छेका लागि मान्छे नै सबथोक हो’ भन्ने उक्ति पूर्वीय दर्शनको महान ग्रन्थ वेदको (उध्धरेत् आत्मानां आत्माम् नआत्मानं अवसादयेत्, आत्मैव आत्मनो बन्धु आत्मैवः रिपुरात्मनः) निष्कर्षसँग मिल्दोजुल्दो छ । मार्क्सले आफ्नो अध्ययन जब पूर्वतिर मोड़े तब उनको ज्ञानले पनि अझ क्रान्तिकारी मोड लिएको पिइन्छ ।

पूर्वीय दर्शनको अध्ययनपछि मार्क्सले द्वन्दवाद र भौतिकवादलाई वैज्ञानिक रूपले व्याख्या गरेर द्वन्दात्मक र ऐतिहासिक भौतिकवादको रूपमा स्थापित गर्न सफल भए भनिन्छ ।

जननेता कमरेड मदनकुमार भण्डारीले आफूले कहिल्यै पनि राजनीतिमा थकाइ महसुस गर्नु भएन । उहाँले जहिले पनि ‘राजनीतिमा थकाई भन्ने शव्दावली हुँदैन’ भन्ने कुरालाई आत्मसात गर्नु भयो । राजनीति यस्तो क्षेत्र हो, जो निरन्तर चलिरहने प्रकृया हो । यस क्षेत्रमा सेवा र सद्भाव प्रमुख हुन्छ । सेवा र सद्भाव समाजको अभिन्न प्रकृया हो । जो समाज रहेसम्म जारी रहन्छ । अझ दीनदुःखी र गरिबहरूलाई सेवा गर्ने र श्रमिकहरूको मुक्तिका लागि काम गर्ने जनमुखी राजनीतिकर्मीका निम्ति यो जीवनमरणको सवाल हो । त्यसैले जननेता मदनकुमार भण्डारीले ‘राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन’ भन्ने निष्कर्ष अघि सार्नु भयो । किनकी ‘थकाई मार्न थाल्ने हो भने त राज्यको वागडोर’ ‘चल्तीका नाम गाडी’ हुनसक्छ । त्यसैले राजनीतिले थकाई मानेर बस्न सक्दैन । थकाई मानेर बसेर राज्य पनि चल्दैन । हाम्रो शाश्त्रीय श्लोकले भन्छ, ‘आलस्यं हि मनुष्यणा शरिरस्थो महा रिपु ।’ जय होस् ।

जननेता मदन भण्डारी

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj