Connect with us
Kapilvast Forest

एक लाखभन्दा बढी बिरुवा रोपिए

२०७८, १५ असार मंगलवारमा प्रकाशित

 

काठमाडौँ-राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा सोमबार देशभर एक लाखभन्दा बढी बिरुवा रोपिएका छन् । वन तथा वातावरणमन्त्री कृष्णगोपाल श्रेष्ठले बूढानीलकण्ठ नगरपालिकाको रुद्रमती÷धोबीखोला करिडोरमा सोमबार असारे बिरुवा रोपेर राष्ट्रिय वृक्षरोपण दिवसको शुभारम्भ गर्नुभयो ।

रुद्रमती करिडोरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले रोपिएका बिरुवालाई हुर्काउन सके सहरको प्रदूषण कम हुने र सहरी सौन्दर्य सुधार गर्न सकिने विचार व्यक्त गर्नुभयो । उहाँले वन तथा वातावरण मन्त्रालयका पदाधिकारीलाई भन्नुभयो, “वृक्षरोपणसँगै जगेर्ना गर्ने, हुर्काउने योजनासमेत समावेश गरिनुपर्छ । ”

त्यस अवसरमा वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले मन्त्रालयले घना बस्ती भएका सहर बजारमा वातावरणीय स्वच्छता कायम गर्न र सहरी सुन्दरताका लागि सहरी वन विकास कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

वन तथा भूसंरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले बूढानीलकण्ठ नगरपालिका र रुद्रमती हरियाली उपभोक्ता समितिको सहकार्यमा करिब पाँच किलोमिटर क्षेत्रको नदी किनार दायाँबायाँ कपुर, चाँप, धूपी, करवीर, टेकोमा, कल्की, असारे, चेरी, ज्याकाराण्डा लगायतका करिब तीन हजार २५० वटा बिरुवा रोपिएको बताउनुभयो । लुम्बिनी प्रदेशको नवलपरासी जिल्लामा एक घण्टामा २० हजारभन्दा बढी बिरुवा रोपिएका छन् । एक घण्टाभित्र यति धेरै बिरुवा रोपिएको पहिलो घटना भएको मन्त्रालयले जनाएको छ ।

लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका प्रवक्ता दीपक ज्ञवालीले दिएको जानकारीअनुसार नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नम्बर ११ स्थित जरगाहा क्षेत्रमा १५ हेक्टर जग्गामा एक घण्टाको अवधिमा २० हजार ९१७ बिरुवा रोपण गरिएको हो । बाँझो चउर, बगरका रूपमा रहेको २९ हेक्टर क्षेत्रबाट यसअघि सुकुम्बासीलाई हटाएर संरक्षण गरेर राखिएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu