Connect with us
Kapilvast Forest

प्युठानमा मृत भेटिएका हेमन्तको हत्या आरोपमा तीन किशोर पक्राउ

२०७८, १७ असार बिहीबारमा प्रकाशित

काठमाडौं-प्युठानमा गत सोमबार मृत फेला परेका हेमन्त पुनमगरको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।प्युठान नगरपालिका वडा नम्बर १० नेपानेमा सोमबार बिहान सवा ६ बजे हेमन्त भन्ने नरेन्द्र मृत र उनका साथी सुरेश बस्नेत गम्भीर घाइते अवस्थामा फेला परेका थिए।

प्रहरीले हेमन्तको हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

उनको हत्या आरोपमा नेपानेका १७ वर्ष र १५ वर्षका बालक र मल्लारानी गाउँपालिका वडा नम्बर ३ धनुबाँसका १८ वर्षीय रेमबहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको छ।

घाइते बस्नेतको भैरहवास्थित मेडिकल अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोको अपरेसन गरिएको थियो। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

प्रहरी नायब उपरीक्षक मल्लका अनुसार उनको अवस्था गम्भीर छ।हेमन्तका दाइ रविन्द्र पुन मगरका अनुसार अघिल्लो दिन उनीहरू आफ्नी दिदीको घर गएका थिए। त्यहाँ उनीहरू पहिरोले भत्काएको गोठ बनाउन गएका थिए।

प्रहरीका अनुसार उनीहरू दिदीको घरबाट फर्किएपछि ढेब्रि पसलमा बसेर रक्सी खाएका थिए। रक्सी खाएर घर फर्किने क्रममा बाटोमा आरोपित तीन किशोरहरूसँग भेट भएको थियो।

त्यसैक्रममा अश्लिल शब्द प्रयोग गरी दुबै पक्षबीच गालीगलौज गरी विवाद भएको थियो।विवादपछि रेमबहादुरले आफूलाई हेमन्तहरूले रिस उठाएको भन्दै तीनै जना मिलेर कुट्नपर्छ भनेका थिए।

हेमन्त र सुरेशलाई कुट्न भनी उनीहरू तीनै जनाले दाउरा लिएर कुरेर बसेका थिए। राति ९ बजे भेटेपछि कुटपिट गरेर भागेका थिए। भोलिपल्ट बिहान हेमन्त मृत फेला परेका हुन्। सुरेश अचेत भेटिएका हुन्।प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj