सहकुल थापा एआईजीमा बढुवा ,कृष्णहरि पुस्कर सचिवमा बढुवा
काठमाडौँ-सरकारले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) मा सहकुलबहादुर थापालाई बढुवा गर्ने निर्णय गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको सिफारिसअनुसार थापालाई एआईजीमा निर्णय गरेको हो।
गत सोमबार बढुवा समितिले थापालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो। थापालाई एआईजी बनाउनकै लागि सरकारले एक एआईजीको दरबन्दी हालै थप गरेको थियो।
नयाँ दरबन्दी प्रदेश समन्वय निर्देशनालयमा रहने भएको छ।थापा एआईजीमा बढुवा भएसँगै भावि आईजीपीको लागि पनि प्रतिस्पर्धा गर्न बाटो खुलेको छ। यसअघि एआईजी विश्वराज पोख्रेल भावी आईजीपीको एकल दाबेदार हुनुन्थ्यो।
उहाँहरू सँगै सेवामा प्रवेश गरे पनि पोख्रेल एसएसपीबाट अगाडि लाग्नु भएकोहो । पोख्रेललाई एआईजी बनाउँदा पनि सरकारले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा नयाँ दरबन्दी सिर्जना गरेको थियो।
थापालाई एआईजीमा बढुवा भएसँगै नेपाल प्रहरीमा एआईजीको संख्या ६ पुगेको छ।यसअघि एआईजी हरि पाल, निरज शाही, प्रद्युम्नकुमार कार्की, विश्वराज पोख्रेल र प्राविधिकतर्फ आशा सिंह कार्यरत हुनुन्छ । पोख्रेल बाहेकका एआईजी आईजीपीसँगै अवकास हुने भएकाले पोख्रेल र थापा मात्रै आईजीपीका दाबेदार हो ।
मन्त्रिपरिषद्को बैठकले कृष्णहरि पुस्करलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनु भयो ।
बढुवा सिफारिस समितिले बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम पठाउँदा पुस्करको नाम पहिलो नम्बरमा थियो । समितिले पुस्करसँगै खगेन्द्रप्रसाद नेपाल र किरणराज शर्माको नाम सिफारिस गरेको थियो ।