एक वर्ष भित्र सबै मन्त्रालय देउखुरीमा: मन्त्री रिजाल
प्यार अलि खान-
एक वर्ष भित्रै लुम्बिनी प्रदेशका सबै मन्त्रालयहरु स्थायी राजधानी देऊखुरी उपत्यकामा सरिसक्ने ग्रामिण तथा शहरी विकास मन्त्री हरिप्रसाद रिजालले जानकारी दिएका छन्।
आर्थिक वर्ष २०७८/७९ मै मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयसंगै ९ वटा मन्त्रालय स्थायी राजधानीमा सारिने मन्त्री रिजालले बताए।
‘केही दिनमै आन्तरिक मामिला तथा भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय स्थापना हुँदै छ।’ न्युज सेन्टरसंगको कुराकानीमा मन्त्री रिजालले भने, ‘बाँकी मन्त्रालयहरु पनि छिटो भन्दा छिटो सारिसक्ने छौं।’
राप्ती प्राविधिक शिक्षालयलाई मर्मत संभार तथा रङरोगन गरेसंगै मन्त्रालयहरु स्थापना हुने बताईएको छ। ‘प्रदेश सभाले राजधानी तोकेसंगै स्थायी राजधानीको कार्यान्वयन गर्ने जिम्मा मेरो मन्त्रालयलाई छ।’ मन्त्री रिजालले भने, ‘व्यवस्थित शहरी विकासका लागी गुरुयोजना तथा डीपिआर बनाउने कामलाई उच्च प्राथमिकताका साथ तिब्रता दिएका छौं।’
ग्रामीण तथा सहरी विकास मन्त्रालयले खानेपानी सरसफाई तथा स्वच्छता, भवन, आवास तथा शहरीकरण पर्यटन प्रवद्र्धन तथा विकासको काम हेर्ने जिम्मेवारी रहेको मन्त्री रिजालका स्वकिय सचिव विनोद भण्डारीले जानकारी दिए।
‘प्रदेश सभा भवन निर्माणलाई तिब्रता दिएका छौं।’ रिजालले भने, ‘स्थायी राजधानीमै हिउँदे अधिवेशन गर्ने र संसद चलाउने कुरा प्रदेश सरकारको प्राथमिकतामा छ।’