कपिलवस्तु अस्पतालको सेवा साउन एक गते सम्म बन्द
कपिलवस्तु –कपिलवस्तु अस्पतालले सुचना प्रकाशन गरि स्वास्थ्य बिमाबाट प्रदान गर्दै आईरहेको सेवाहरु पाँच दिन सम्म रोकेको छ । आर्थिक बर्ष २०७७÷७८ को हिसाब मिलान गर्नु पर्ने भन्दै अस्पताल प्रशासनले सुचना प्रकाशित गरि असार २८ देखी साउन १ गते सम्म बिमाको सेवा रोकिने जानकारी दिएको हो ।
अस्पतालले सुचना जारी गरे सगै बिमा गराएका सेवाग्राहीहरुले बिमाले तोकेका सेवा लिन नपाउदा समस्यामा परेका छन । स्वास्थ्य समस्याबाट हुन सक्ने अनियोजित खर्चको जोखिमलाई अग्रिम व्यवस्थापन गरि बित्तिय संरक्षण गर्ने योजनाका साथ बिमा गराएका सेवाग्राही सेवा रोकिदा मर्कामा परेका हुन । अस्पतालले आन्तरिक अडिट र स्टक मिलान गरिने भन्दै सावैजनिक सुचना नै जारी गरेर सेवा बन्द गरे पछि बिमा कार्डका भरमा औषधी गराउन आएका कतिपय सेवाग्राही त्यसै फर्किने गरेका छन ।
कतिपयले सेवाग्राहीले शुल्क तिरेर सेवा लिएको देखिएको छ ।स्वास्थ्य बिमा गराएकी कपिलवस्तु नगरपालिका वडा नम्बर ४ लौसाकी निर्मला हरिजनले अस्पतालले सेवा रोक्दा आफु मर्कामा परेको बताईन । आफूले बिमाको कार्ड लिएर उपचार गराउन आएको भए पनि अस्पतालले बिमाको सुबिधा लिएकालाई उपचार रोकिएको जानकारी दिएको बताउनुभयो ।
आफुलाई रगत पिसाब सहितका परिक्षणको लागी १ हजार ४ सय शूल्क लाग्ने भने पछि उपचार नगराई फर्कन थालेको उनले गुनासो गरिन । “बिमा बनाए पछि कार्ड बोकेर उपचार गर्न आएकी थिए । उपचार लिन शुल्क तिर्नु पर्छ भने । बिमा भएकालाई उपचार दिनका लागि अरु उपाय खोजिदिनु प¥थ्यो ।” उनले गुनासो गर्दै भनिन । उनी जस्तै उपचार नपाएका अन्यको लागी उपचारका अन्य बिकल्प दिन वा उपयुक्त व्यवस्थापन गरि दिन अस्पताल प्रशासन र बिमा बोर्ड चुकेको निर्मलाका आफन्त कृष्ण हरिजनको आरोप छ ।
बिमाकै लागि छुट्टै संरचना नभएको र अस्पतालको फार्मेसीको स्टकहरु व्यवस्थापन गर्दा बिमाबाट दिईएका सुबिधाहरु समेत सुचना निकालेरै रोकिएको कपिलवस्तु अस्पतालका बिमा प्रमुख उमेश उपाध्यायले जानकारी दिनुभयो । अस्पतालको फार्मेसी समेत असार २८ देखी साउन १ गते सम्म बन्द गरि स्टक मिलान र अटिडको तयारी गरिदाँ बिमाको सुबिधा दिन केहि समस्या परेको उहाँले बताउनुभयो । “आगामी दिनमा बिमा गराएका सेवाग्राहीलाई समस्या नहोस भनेर चाडैनै छुट्टै टिकट काउण्टर, फार्मेसी र ल्याबको व्यवस्थापन गर्ने योजना छ ।
उहाँले भन्ुनुभयो । अस्पतालमा अडिट र हिसाब मिलानको कार्य चलेका कारण बिमा गराएका सेवाग्राहीलाई सुचनानै निकालेर पाँच दिन सेवा रोकिएको कपिलवस्तु अस्पतालका व्यवस्थापक रत्नाकर शुक्लाले जनाउनुभयो । “अस्पतालमा बिमा गराएका सेवाग्राहीकै लागी यो पाँच दिनमा कुनै बिशेष व्यवस्था गर्न सकिएको छैन । गरिब बिमा धारकको हकमा सेवा निशुल्क र औषधीमा शुल्क लिन सक्छौ ।
अन्य बिमा भएका नागरिकले पाँच दिन शुल्क तिरेरै सेवा लिनु पर्ने अवस्था छ ।” शुक्लाले प्रष्ट्याउनुभयो । कपिलवस्तु अस्पतालबाट गत आार्थिक बर्ष २०७६÷७७ को अबधीमा ३ हजार ९८ जनाले स्वास्थ्य बिमाको सुबिधा लिएका थिए । चालु आर्थिक बर्षको अबधीमा अस्पतालबाट २ हजार ९ सय ४६ जनाले स्वास्थ्य बिमाको सेवा लिएका छन ।
अस्पताल प्रशासनले २÷३ दिन सेवा अवरुद्ध हुन सक्ने पुर्व जानकारी दिएको स्वास्थ्य बिमा बोर्ड कपिलवस्तुकी दर्ता अधिकारी सुजाता महर्जनले जानकारी दिईन । “अडिट र हिसाब मिलानका लागी सेवा अबरुद्ध हुने जानकारी गराउनु भएको थियो । ईमरजेन्सी सेवा दिदै आउनु भएको छ । सेवाग्राहीलाई सेवा प्रवाह गर्न नसके रेफर गर्ने कुरा भएको छ ।” उहाँले भन्नुभयो । दर्ता अधिकारी तुलाधरका अनुसार कपिलवस्तु जिल्लामा हाल सम्म ६५ हजार २ सय ४४ जना स्वास्थ्य बिमामा जोडिएका छन ।
यता स्वास्थ्य बिमा बोर्डका लुम्बिनी प्रदेश संयोजक मनोज पौडेल स्वास्थ्य बिमा नेपाल सरकारको योजना भएकाले सो योजना सबै सरकारी निकायको योजना भएको बताउछन । “उपयुक्त व्यवस्था नगरिकन सेवा अवरुद्ध गर्न मिल्दैन । अस्पतालले सेवा रोक्ने सुचना पुर्व स्थानिय सरोकारवाला सँग छलफल चलाउन आवश्यक थियो । आफुले नसक्ने अवस्था भए अन्यत्र रिफर गर्नु पर्ने हुन्थ्यो ।
पौडेलले भन्नुभयो । अस्पतालको आन्तरिक व्यवस्थापनका कारण बिमाका सेवाग्राहीले पाउने सुबिधा रोकिन नदिन आफुहरुले पहल गर्ने उनले प्रष्ट्याउनुभयो ।
स्वास्थ्य सेवाको खर्चलाई कम गर्ने, स्वास्थ्य समस्याको कारणले हुन सक्ने आर्थिक जोखिमलाई न्युनिकरण गर्ने संयन्त्रको रुपमा स्वास्थ्य बिमा देखीएको छ । स्वास्थ्य बिमा कार्यक्रम अन्र्तगत ओपिडी सेवा, ईमरजेन्सी सेवा, अस्पताल भर्ना भई लिईने अन्तरङ्ग सेवा, निदानात्मक सेवा (एक्सरे, ईसिजी, अल्ट्रासाउण्ड, एमआरआई, सिटी स्क्यान, रगत जाँच), सुचिकृत औषधीहरु, शल्यक्रिया र तोके बमोजिम मुल्यको चश्मा, श्रवण यन्त्र, सेतो छडी, बैशाखी आदी सेवा पाउने व्यवस्था छ ।