नागरिकता विधेयक पास नगरेर ठूलो अपराध गरेका छौं :सांसद राई
काठमाडौं – राष्ट्रियसभाकी सांसद विमला राई पौड्यालले नागरिकता विधेयक पारित नगरेर सांसदहरुले ठूलो अपराध गरेको बताउनुु भएको छ ।बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै उहाँले संविधान अनुसार नागरिकता पाउनुपर्ने ६ लाख युवाहरु नागरिकता विहीन हुनुको जिम्मेवार सांसदहरु रहेको टिप्पणी गर्नु भएको हो ।
‘निवर्तमान सरकारले कानुनको मस्यौदा गरेर प्रतिनिधिसभामा बुझायो । प्रतिनिधिसभाले तीन वर्षदेखि छलफल गरेको गरेकै छ, राष्ट्रियसभामा अहिलेसम्म आएको छैन ।
दलीय सहमतिको नाममा ६ लाख नागरिक हुने युवालाई नागरिकताविहीन बनाएर राख्न मिल्छ रु’ उहाँले भन्नुभयो ‘त्यो चाँडो निकाल्न पर्दैन सम्माननीयज्यू, यो एकदमै ठूलो अपराध गरिरहेका छौं ।’
नागरिकताविहीन हुनेहरुको पीडाले सांसदहरुलाई छुन नसकेको सांसद राईले बताउनुभयो । ‘हामी संसदमा बस्ने सांसदहरु नागरिकताविहीन छैनौं, हाम्रा छोराछोरी पनि नागरिकताविहीन छैनन् । त्यसैले यसले हामीलाई कति छोएको छ शंका लागेको छ’ उहाँले भन्नु भएको हो ।
यदि दलीय सहमति नजुटेर विधेयक अगाडि नबढेको भए यति ठूलो जनसरोकारको विषयमा सांसदहरुले फ्लोर क्रस गर्न सक्नुपर्ने सांसद राईले बताउनुभयो ।