सेनाको ‘कम्ब्याट’ लगाउनेलाई कारबाही गरिने
डोटी । सर्वसाधारण नागरिकले नेपाली सेनाको पोशाक लगाए कारबाही गरिने भएको छ । जिल्ला प्रशासनले गैरसैनिकलाई ‘कम्ब्याट’ पोशाक निषेध गरेको छ ।
जिल्लामा पछिल्लो समय अधिकांशले ‘कम्ब्याट’ लगाउन थालेका छन् । सर्वसाधरणले कम्ब्याट’ लगाउन थालेपछि प्रशासनले त्यसलाई निषेध गरेको हो । प्रशासनले कम्ब्याट’ नलगाउन सबैमा आग्रह समेत गरेको छ ।
प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले कम्ब्याट’ निषेध गर्न सबै स्थानीय तहका प्रमुख प्रशाकीय अधिकृतलाई पत्राचार गरिएको जानकारी दिनुभएको छ । ‘कम्ब्याट निषेधको निर्णय गरेर कार्यान्वयनको लागि जिल्लाका ९ वटै स्थानीय तहलाई पत्र पठाएका छौं’ उहाँले भन्नुभयो, ‘कसैले अटेर गरेर लगाए कारबाही हुनेछ ।’
नेपाली सेनाका सकल दर्जाले लगाउने रंगको पोशाक बजारमा बिक्री हुँदै आएको छ । गृह मन्त्रालयले केही महिनाअघि कम्ब्याट’ निषेध गर्न सबै जिल्ला प्रशासनलाई पत्रचार गरेको थियो ।