भाइलाई पास गराउन अनियमितता गर्ने रिमाल शिक्षक सेवा आयोगको सदस्य नियुक्त
काठमाडौँ – भाइलाई शिक्षक सेवा आयोगको परीक्षा पास गराउन आफैं प्रश्नपत्र निर्माण गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने र स्थायी नियुक्तिका लागि अन्तर्वार्तामा सिफारिस गर्ने तत्कालीन उपसचिव डिल्लीराम रिमाल आयोगको सदस्यमा नियुक्त हुनुभएको छ ।
केपी शर्मा ओली नेतृत्व सरकारको पालामा सिफारिस भएका उनलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले मंगलबार नियुक्ति दिएको हो । अख्तियारले समेत परीक्षामा अनियमितता गरेको भनेर दोषी ठहर गरेका उनले बुधबार आयोगमा पदभारसमेत ग्रहण गरिसक्नुभएको छ ।
शिक्षक सेवा आयोगको कार्यविधि २०५९ मा अनुसूची ७ मा प्रश्नपत्र निर्माणकर्ताको आफ्नो नाता पर्ने कुनै व्यक्ति परीक्षामा सम्मिलित हुने सम्भावना भएमा सोको विवरणसमेत खोली पठाउनुपर्ने व्यवस्था छ । तर रिमालले अनुसूचीविपरीत कार्य गरेकाले अख्तियारले ५ वर्षसम्म परीक्षासँग सम्बन्धित प्रश्न पत्र निर्माण, मोडरेटरको भूमिका एवं उत्तर पुस्तिका परीक्षणलगायतका कार्यहरूमा उहाँलाई संलग्न नगराउन शिक्षक सेवालाई निर्देशन दिएको थियो ।
अख्तियारले गरेको छानबिनमा शिक्षक सेवाको विज्ञापन नम्बर १र०६१–६२ माध्यमिक तृतीय श्रेणीको शिक्षक पदको लेखा विषयको प्रश्नपत्र निर्माण, मोडरेसन र उत्तरपुस्तिका परीक्षणमा विशेषज्ञको रुपमा रिमालको संलग्नता रहेको पुष्टि भएको थियो । उक्त परीक्षामा उनका भाइ लेखनाथ प्रतिस्पर्धी रहेका थिए भने परीक्षा पास गरेर अन्तर्वार्ताका लागि समेत सिफारिसमा पर्नु भयाो । अख्तियारको प्रतिवेदनमा भनिएको छ, ‘लेखा विषयका सम्पूर्ण उत्तरपुस्तिकाहरु एउटै पोकामा राखी कोडिङ गरी परीक्षण गराउने कार्य भएको र ती उत्तरपुस्तिकाहरुको परीक्षणमा निज रिमालको मात्र संलग्नता रहेको भन्ने शिक्षक सेवा आयोगको भनाइ रहेबाट पनि आफ्नो भाइ नाताका लेखनाथ रिमालको उत्तर पुस्तिकासमेत निज डिल्ली रिमालले नै परीक्षण गरेको तथ्य स्पष्ट रुपमा स्थापित भएको छ ।’
आयोगको परीक्षामा स्थापित हुनुपर्ने गोपनीयता र निष्पक्षता जस्ता परीक्षाका स्थापित एवं सर्वस्वीकृत मूल्य र मान्यताहरुको उल्लंघन गरिएको अख्तियारले जनाएको थियो । डिल्लीराम त्यतिबेला तत्कालीन जिल्ला शिक्षा कार्यालय सिरहामा कार्यरत हुनुन्थ्यो । कार्यालयमा बिदा लिई उनी काठमाडौं आएर प्रश्नपत्र निर्माण, उत्तरपुस्तिका परीक्षणमा सहभागी बन्नुभएको हो । अख्तियारले उक्त परीक्षाको परिणाम नै अन्यथा हुनसक्नेसम्मको स्थिति देखिएकोले सो नतिजालाई विधिसम्मत ढंगबाट प्रकाशित भएको भनी मान्न नसकिने औंल्याएको थियो । अख्तियारले उक्त निर्णय लेखेर २०६३ कात्तिकमा शिक्षक सेवामा समेत पठाएको थियो तर कुनै कारबाही भएन । २०६६ सालमा सहसचिवमा बढुवा भएका रिमालले २०७४ मा नियमित अवकाश पाउनुभएको थियो ।
गत पुसमा शिक्षक सेवा आयोगको पदाधिकारी सिफारिस समितिले अध्यक्षमा पूर्वसचिव मधुप्रसाद रेग्मी, सदस्यमा रिमाल र पूर्वप्रधानाध्यापक नन्दकुमारी महर्जनलाई सिफारिस गरेको थियो । लोकसेवा आयोगका तत्कालीन अध्यक्ष उमेशप्रसाद मैनाली अध्यक्षताको सिफारिस समितिले उहाँहरुको नाम सिफारिस गरेको हो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटा र शिक्षा सचिव गोपीनाथ मैनाली सिफारिस समितिको सदस्य हुनुन्थ्यो ।
पुसमा सिफारिस गरे पनि पूर्वशिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले नियुक्ति रोक्दै आउनुभएको थियो । स्रोतका अनुसार रेग्मी र रिमाल सत्तारुढ कांग्रेस निकट हुनुन्छ भने महर्जन माओवादी केन्द्रनिकट हुनुन्छ । श्रेष्ठले आफ्नो सरकारको पालामा एमाले निकट व्यक्ति सिफारिसमा नपरेको भन्दै असन्तुष्टि जनाउनुभएको थियो ।