दोषी प्रमाणित भए ५ वर्ष कैद र ५० हजार जरिवाना हुने जनता समाचाररविलाई दुरुत्साहन अभियोग लगाउन प्रहरीको राय
चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्याको विषयमा प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलमा आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दा पेस गरेको छ ।
चितवन आएको प्रहरीको केन्द्रीय अनुसन्धान टोलीका प्रहरी उपरीक्षक दिपक रेग्मीले आइतबार पत्रकार सम्मेलनमार्फत अनुसन्धान पूरा गरी आत्महत्या दुरुत्साहन मुद्दा पेस गरेको जानकारी दिनुभयो । रेग्मीले अनुसन्धान सकाएर फाइल सरकारी वकिलको कार्यालयमा बुझाइएको बताउनुभएको छ ।
उहाँका अनुसार अब अगाडिको प्रकृयाको टुंगो लगाउनुपर्ने जिम्मा सरकारी वकिलको हुनेछ । आइतबार तीनैजना आरोपीलाई या त थुना मुक्त गर्नुपर्छ वा अदालतमा उपस्थित गराएर अगाडिको काम कारबाही तय गर्नुपर्ने हुन्छ । अनुसन्धान पूर्ण भइसकेको अवस्थामा जिल्ला सरकारी कार्यालयले फाइलको अध्ययन गरी क–कसलाई मुद्दा चलाउने वा नचलाउने भन्ने निर्णय गर्नसक्छ ।
मुद्दा चलाउने निर्णय भए आजै मुद्दासहित तीनैजना आरोपीलाई अदालतमा पेश गरिन्छ र अदालती प्रकृया शुरु हुन्छ । सरकारी वकिललाई प्रहरीले गरेको अनुसन्धानमा थप प्रमाणहरु चाहिने वा अनुसन्धान गर्नुपर्छ भन्ने लागेमा प्रहरीलाई थप अनुसन्धानका लागि फाइल फिर्ता पठाउन सक्छ । यदी सरकारी वकिललाई प्रहरीले गरेको अनुसन्धान र प्रमाणका आधारमा आरोपीलाई अभियोजन गर्न सकिँदैन भन्ने लागेमा मुद्दा नचलाउने सिफारिस गर्न सक्छ ।
जिल्ला सरकारी कार्यालयले मुद्दा नचलाउने सिफारिस गरे त्यो फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताले सदर गर्नुपर्ने हुन्छ । त्यसपछि प्रहरीले आरोपीलाई थुनामुक्त गर्नसक्छ । हिरासतमा लिएको व्यक्तिलाई अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद थप गर्दै २५ दिनसम्म हिरासतमा राख्न पाउने कानुनी प्रावधान छ ।चितवन प्रहरीले रवि लामिछाने लगायतलाई अनुसन्धान गर्न अदालतबाट दुई पटक गरेर १० दिनको समय लिएको थियो । मुद्दा दायर भएमा अदालतमा अभियुक्तलाई साधरण तारेख, धरौटी वा थुनामा राख्ने भन्ने विषयमा थुनछेक बहस हुने गर्दछ । अनुसन्धानका क्रममा आत्महत्या अगाडि को भिडियो, पुडासैनीसँग भएका सम्बन्ध, टेलिफोन, आवश्यक प्रमाण सबैलाई अनुसन्धान गरेर सरकारी वकिलमा पेस गरेको जानकारी दिइएको छ ।
प्रहरीको हिरासतमा रहेका टेलिभिजन प्रस्तोता लामिछाने, पत्रकार युवराज कडेल र अस्मिता कार्कीमाथि अनुसन्धान गरी प्रमाणसहित पेस गरेको हो । अनुसन्धानमा भएका आवश्यक प्रमाणसहित आत्महत्या दुरुत्साहनमा नै मुद्दा पेस गरेको छ । अनुसन्धानको आधारमा सम्मानित अदालतले जे आदेश दिन्छ, त्यही काम प्रहरीले गर्ने रेग्मीले बताए । ‘भिडबाट होइन अदालतबाट न्याय खोज्नु पर्दछ’ रेग्मीले भने ।
प्रचलित कानुन अनुसार आत्महत्या दुरुत्साहन मुद्दामा दोषी भएमा ५ वर्ष कैद र ५० हजार जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।