एमालेले किन ल्यायो अध्यक्ष र सदस्यमात्रै निर्वाचित हुने प्रस्ताव?
काठमाडौं-महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित नेतृत्वको अभ्यास शुरु गरेको नेकपा (एमाले) दुई कार्यकालपछि फेरि पुरानै लयमा फर्कन लागेको छ।आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला एमालेले अध्यक्ष र केन्द्रीय सदस्यहरू मात्रै निर्वाचित गर्ने प्रणाली अपनाउन लागेको हो।
आगामी २७ र २८ भदौमा हुन लागेको विधान महाधिवेशनले यो प्रस्ताव पारित गरे दशौं महाधिवेशनदेखि अध्यक्ष र केन्द्रीय कमिटी सदस्य महाधिवेशन हलले निर्वाचित गर्नेछ। र, निर्वाचित केन्द्रीय सदस्य मध्येबाट पदाधिकारी चयन हुनेछन्।
२०५९ सालमा जनकपुरमा सम्पन्न सातौं महाधिवेशनसम्म केन्द्रीय कमिटी निर्वाचित हुने र निर्वाचित केन्द्रीय कमिटीले महासचिव (पार्टी प्रमुख) चुन्ने व्यवस्था थियो। तर, त्यो व्यवस्था प्रजातान्त्रिक नभएको भन्दै आठौं र नवौं महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यसँगै पार्टीका पदाधिकारी समेत महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित हुने व्यवस्था अवलम्बन गरिएको थियो।
एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवाली आन्तरिक लोकतन्त्रका नाममा पार्टीका सम्पूर्ण पदाधिकारी निर्वाचित हुने व्यवस्थाले गुटबन्दी सिर्जना भएको र त्यसले जिम्मेवारी विभाजनमा समेत समस्या देखिएकाले यस्तो व्यवस्था गर्न लागिएको बताउँछन्।
“सबै पद निर्वाचित हुँदा समानान्तर जस्तो देखिए, नेतृत्वको कमाण्ड एक ठाउँबाट हुनुपर्नेमा पनि अलि समस्या देखियो,” ज्ञवाली भन्छन “कार्य विभाजन र लयमा हिंडाउन समस्या देखिएपछि दुईवटा महाधिवेशनको अनुभवबाट नयाँ प्रस्ताव गरेका हौं।”