अर्थमन्त्रीले आज ‘अर्थतन्त्रको यथार्थपत्र’ ल्याउँदै
काठमाडौं-अर्थमन्त्री जनार्दन शर्माले देशको आर्थिक स्थितिबारे जानकारी गराउन ‘अर्थतन्त्रको यथार्थपत्र’ ल्याउनुहुने भएको छ । अर्थमन्त्रीले मंगलबार प्रतिनिधिसभामा यथार्थपत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ ।
अर्थतन्त्रको बृहत्तर परिसूचकको अवस्था तथा चुनौतीलाई समेटेर ‘वर्तमान आर्थिक अवस्थाको जानकारीपत्र’ तयार गरिएको अर्थमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ । अर्थमन्त्रीले सोमबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई यथार्थपत्रको विषयमा जानकारी गराउनु भएको छ ।
‘केपी ओली नेतृत्वको अघिल्लो सरकार बन्नुभन्दा अघिको आर्थिक अवस्था र अहिलेको अवस्था, कोभिडबाट अर्थतन्त्रमा परेको प्रभावलगायत विषयलाई समेटेर यथार्थ विवरण तयार पारिएको छ,’ अर्थ मन्त्रालयका एक अधिकारीले भन्नुभयो , ‘यसमा अहिलेको अवस्था र चुनौतीलाई देखाइएको छ, थोरै निष्कर्षसहित अबको बाटो के–कस्तो हुने भनेर पनि उल्लेख गरिएको छ ।’
सामान्यतः नयाँ सरकार आउँदा सरकारले वा कुनै मन्त्रीले वर्तमान स्थितिका विषयमा जानकारी दिन श्वेतपत्र सार्वजनिक गर्ने चलन छ । सोहीअनुसार अर्थमन्त्रीले यथार्थपत्रका रूपमा श्वेतपत्र सार्वजनिक गर्ने तयारी गर्नु भएको हो ।
‘अर्थमन्त्रीले यसलाई श्वेतपत्र नभनेर यथार्थपत्र भन्नुभएको छ, यो सरकारले टेक ओभर गर्दा, काम सुरु गर्दा मुलुकको आर्थिक अवस्था के थियो भन्ने मोटामोटी जानकारी दिने हो,’ उहाँले भन्नु भयो ‘मुलुकमा कोरोनाले के–कस्तो असर पारेको छ, कहाँ–कहाँ कमजोरीहरू भए, के–कति क्षति पुग्यो, अझै के–कस्ता चुनौती छन् भन्नेलगायत विषय पनि यस यथार्थपत्रमा समेटिएका छन् ।