जनता र संविधानको रक्षाका लागि प्रहरी अधिकारी गम्भीर हुनु :- गृहमन्त्री खाँण
काठमाडौं- गृहमन्त्री वालकृष्ण खाँणले जनता र संविधानको रक्षाका लागि प्रहरी अधिकारीहरुलाई गम्भीर हुन निर्देशन दिनुभएको छ । गृहमन्त्री खाँणले प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याव, पोलीग्राफ सेक्सन, डाटा सेन्टर र केन्द्रीय प्रहरी हेल्थ डेक्सको निरीक्षण गर्दै त्यसको बारेमा जानकारी लिई निर्देशन दिनुभएको हो ।
भिडियो कन्फेरेन्सबाट सहभागी भएका सातै प्रदेशका प्रहरी प्रमुख, संघीय ईकाइ कार्यालयका प्रमुख तथा सबै जिल्लाका प्रहरी प्रमुखहरुलाई गृहमन्त्री खाँणले आज निर्देशन दिनुभएको प्रहरी प्रधान कार्यलयले जनाएको छ । उहाँले प्रहरी र सरकार एक सिक्काका दुई पाटा भएकोले सरकार र प्रहरीको सम्बन्धलाई अझ सुदृढ, सवल र प्रगाढ बनाई जनता संविधानको रक्षा तथा नागरिकको जिवन रक्षाको लागि प्रहरी गम्भीर हुनुपर्नेमा जोड दिनुभएको छ ।
आत्महत्या, महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाप्रति राज्य अत्यन्तै संवेदनशील रहेको भन्दै उहाँले त्यस्ता हिंसा न्यूनिकरणका लागि प्रहरीले गम्भीरतापूर्वक लिन उहाँले उपस्थित प्रहरी अधिकारीहरुलाई निर्देशन दिनुभयो । सामाजिक दायित्वको रुपमा आउने बहुआयमिक समस्याहरुलाई सम्बोधन गर्न नेपाल प्रहरी पहिलो पंक्तिमा रहेर आफ्नो कर्तव्य निर्वाह गरेको भन्दै गृहमन्त्री खाणले कोभिड–१९ संक्रमण नियन्त्रण एवम् रोकथामका लागि प्रहरीले संचालन गरेको अभियान सराहनीय रहेको बताउनुभएको छ ।
मुलुकको शान्ति सुव्यवस्थामा नेपाल प्रहरीका सेवा निवृत्त प्रहरी कर्मचारीको क्षमताको उपयोग गर्नुपर्ने र आमनागरिकसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा गृहमन्त्री खाँणले जोड्दिनुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गृहमन्त्री खाणले दिएको निर्देशन कार्यान्वयनका लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।
संगठनले प्राप्त गरेको तालुक गृह मन्त्रालयको वर्तमान नेतृत्वबाट आगामी दिनमा नेपाल प्रहरीको संगठन थप व्यवसायिक र उर्जावान हुने विश्वास महानिरीक्षक क्षेत्रीले व्यक्त गर्नुभयो ।