अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन सरकारकाे आग्रह
काठमाडौं– सरकारले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले आज आइतवार विज्ञप्ति निकालेर अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गर्दै विवरण सङ्कलनका लागि अनलाइन रजिस्ट्रेशन सुरु गरेको जानकारी दिएको छ ।
अफगानिस्तानमा रहेका नेपाली नागरिक वा उनीहरूको परिवारका सदस्यले कन्सुलर सेवा विभागको वेबसाइट nepal consular.gov.np मा आफ्नो नामसहितको विवरण भर्न सक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विज्ञप्तिमा अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित ठाउँमा राख्न तथा नेपाल पठाउन अमेरिका, बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्ट्र सङ्घको कार्यालयलाई औपचारिक पत्राचार गरेको पनि जनाएको छ ।
यसैबीच सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई उद्धार गर्न संयोजन गर्नका लागि एक समिति निर्माण गरेको छ । सरकारले द्वन्द्वग्रस्त देश अफगानिस्तानमा समस्यामा परेका नेपालीहरूलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकत्वमा एक समिति गठन गरेको परराष्ट्र मन्त्रालयका सचिव भरत राज पौड्यालले जानकारी दिनुभयो ।समितिको बैठकमा मन्त्रालयका सचिव पाैड्यालले अफगानिस्तानमा औपचारिक क्षेत्रमा झन्डै एक हजार पाँच सय नेपाली रहेको बताउनुभयो ।