एमाले नेताहरुको दौडधुप , सम्वाद जारी ,पार्टी एकता अन्योलमा
काठमाडौं – सोमबार मध्यरात हुनै लाग्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई पन्ने वक्तव्य जारी गरी पार्टी एकताको पक्षमा उभिन आहृवान गर्नु भएको छ । ‘पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका माननीय सदस्यहरुलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरु विरुद्ध दृढताका साथ उभिन हार्दिक अपिल गर्दछु’, राति एघार बज्नै लाग्दा जारी वक्तव्यमा उल्लेख छ ।
प्रतिनिधिसभाको चालु अधिवेशन हठात् अन्त्य गरेर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र एमाले विभाजन गर्ने षडयन्त्र भइरहेको सन्देश पनि ओलीले दिनु भएको छ । वक्तव्य जारी गर्नुअघि ओलीले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई स्थायी कमिटी बैठक र प्रमुख सचेतक विशाल भट्टराईलाई संसदीय दलको बैठक बस्नेबारे सूचना पठाउन निर्देशन दिजु भएको थियो । स्थायी कमिटी बैठक मंगलबार बिहान ११ बजे र संसदीय दलको बैठक दिउँसो दुई बजे बोलाइएको छ ।प्रमुख सचेतक भट्टराईले संसदीय दलको बैठक नियमित भएको बताउनु भयो । ‘संसद् अधिवेशन शुरु हुनुअघि र अन्त्य भएपछि दलको बैठक बस्नु नियमित प्रक्रिया हो’, भट्टराईले भन्नु भयो । तर सोमबार दिनभर विकसित राजनीतिक घटनाक्रम र राति अबेर अध्यक्ष ओलीले वक्तव्य जारी गर्नुले एमालेभित्रको संकट थप गहिरिएको बुझ्न गाह्रो पर्दैन ।
वरिष्ठ नेता माधवकुमार नेपालले पनि मंगलबार आफू निकट सांसद र केन्द्रीय सदस्यहरुसँग छलफल गर्दै हुनुन्छ । ‘यो छलफलले सम्भवतः महत्वपूर्ण निर्णय लिनेछ । सोमबार दिउँसो सरकारले संघीय संसद् अधिवेशन अन्त्य गरे लगत्तै एमालेभित्र उकुसमुकुस बढेको थियो । साँझसम्म दुवैतर्फका नेताहरुको दौडधुप र सम्वाद जारी रहृयो ।
तर पार्टी एकताबारे अन्योल कायमै रहेका बेला अध्यक्ष ओलीले वक्तव्य जारी गर्दै अनुशासित र सक्रिय भूमिकामा रहन पार्टी पंक्तिलाई निर्देशन दिनु भएको छ ।एक नेताका अनुसार, केही दिनभित्रै एमाले विवादले निर्णायक रूप लिने सम्भावना धेरै छ । ‘अझै पनि पार्टी एकता जोगिने वा नजोगिने भन्ने निर्धारण अध्यक्ष कमरेडकै निर्णयमा भर पर्छमंगलबार बोलाइएको स्थायी कमिटी बैठकले एकताको सन्देश दिनेगरी निर्णय गरी औपचारिक र अनौपचारिक संवादको ढोका खुला गरेमा एकता जोगिने सक्ने ती नेताको विश्वास छ ।