पञ्चेबाजा बज्दा नझुक्कियौं, जन्ती हाेइन कर उठाउन आएकाे हुनसक्छ
काठमाडौं- काठमाडौं महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट कर असुल गर्न आगामी भदौ ९ गते बुधबारदेखि पञ्चेबाजासहित टोलटोलमा अभियान शुरु गर्ने भएको छ ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले कर असुल गर्न बुधबारदेखि पञ्चेबाजासहित लोक तथा दोहोरी गीत बजाएर घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदातासमक्ष पुग्ने र गीतमार्फत कर नतिर्ने करदाताका बारेमा जानकारी गराउन लागेको बताउनुभयो ।
महानगरले बक्यौता रकम असुल गर्न पटक–पटक सूचना सार्वजनिक गर्दा पनि सम्बन्धित निकाय सम्पर्कमा नआएपछि यस्तो तयारी थालेको प्रवक्ता डंगोलले जानकारी दिनुभयो ।
काठमाडौं महानगरपालिकाले यसअघि गत असार १६ गते र साउन २६ गते कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरी ३० दिनभित्र सम्पर्क गर्न आग्रह गरेको थियो । असार १६ गते पहिलो चरणमा कर तिर्न आनाकानी गरेका २० ठूला करदाताको नाम सार्वजनिक गरिएको थियो भने साउन २६ गते दोस्रो चरणमा ७२ ठूला करदाताको नाम महानगरले सार्वजनिक गरेको थियो ।
महानगरले ठूला करदाताको नाम सार्वजनिक गर्दै ३० दिनभित्र सम्पर्क गर्न आग्रह गरेको थियो । तर, महानगरले सूचना गर्दा पनि करदाताले बेवास्ता गरेपछि यो पटक यस्तो तयारी थालिएको प्रवक्ता डंगोलले जानकारी दिनुभयो । यस्तै कर तिर्न बाँकी करदातालाई आफ्नो विवरण लिएर सम्पर्कमा आए नियमअनुसार दिइने कर छुट सुविधा प्राप्त गर्न सकिने महानगरले जनाएको छ । तर, अझै आलटाल गरे थप समस्या हुने भन्दै कर तिर्न निजी र अर्धसरकारी संघसंस्थालाई महागरले अनुरोध गरेको छ । महानगरले यस अभियानमा ७० करोड रुपियाँ असुल गर्ने लक्ष्य लिएको प्रवक्ता डंगोलले बताउनुभयो ।
उहाँकाअनुसार सूचना सार्वजनिक गरेयता हालसम्म करिब तीन करोड रुपियाँ बक्यौता रकम असुल गरिएको छ । सूचना जारी भएपछि सम्पर्कमा आएका व्यापारिक प्रतिष्ठानले पहिलो चरणमा एक करोड ५३ लाख राजश्व बुझाएको महानगरले जनाएको छ । कर बुझाउनेमा युनाइटेड विल्डर्स एण्ड इञ्जिनियरिङ (वल्र्ड ट्रेड सेन्टर), नेशनल हस्पिटल, शहीद मेमोरियल हस्पिटल र एनआरटी क्लबले पहिलो चरणमा राजशव बुझाएको हो वल्र्ड ट्रेड सेन्टरले एक करोड, नेशनल हस्पिटलले २४ लाख, शहीद मेमोरियल हस्पिटलले १९ लाख २० हजार र एनआरटी क्लबले १९ लाख राजश्व बुझाएको महानगरले जनाएको छ ।
त्यस्तै राजश्ज तिर्न बाँकी रकम केही हप्ताभित्र तिर्ने प्रतिबद्धता गरेको प्रवक्ता डंगोलले बताउनुभयो । ‘व्यापारिक प्रतिष्ठानले बाँकी रकम तिर्ने प्रतिबद्धता जनाएको छ । करदातामध्ये कसैले १० दिन, कसैले १५ दिनभित्र बाँकी रकम तिर्ने कागज गर्नुभएको उहाँले बताउनुभयो ।