अर्जुनधाराको सडक किनारमा महिलाको शव फेला
झापा -अर्जुनधारा नगरपालिकामा एक महिलाको शव सडक किनारमा बिहान फेला परेको छ। सोमबार बिहान ८ बजे अर्जुनधारा–६ बिहानी टोलमा विद्युत् पोल नजिकै शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले शव अर्जुनधारा(१० खुदुनाबारी घर भई बिहानी टोलमा डेरा गरी बस्दै आएकी ४५ वर्षीया साबित्रा खड्का विश्वकर्माको जानकारी दिनुभयो ।
विद्युत्को ट्रान्सफर्मर जडित पोलमुनि शव फेला परेको थियो। महिलाको काँधको भागमा ट्रान्सफर्मरको अर्थिङ गरिएको तारले छोएको र काँधको भाग डढेको डिएसपी थापाले बताउनुभयो । अर्थिङ तारमा करेन्ट प्रवाह भएको वा नभएको विषयमा नजिकै रहेको विद्युतीय कर्मचारी बोलाएर परीक्षण गर्दा तारमा करेन्ट प्रवाह जानकारी दिएको उहाँले बताउनुभयो ।
महिलाको करेन्ट लागेर वा अन्य कुनै कारणले मृत्यु भएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको उनको भनाइ छ। शवलाई पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाएको जनाइएको छ।
शनिवार साँझ श्रीमानसँग सामान्य घर झगडा भएपछि सावित्रा घरबाट निस्किनुभएको थियो । सामान्य घर झगडापछि सावित्रा बाहिर निस्किएको उहाँका श्रीमान् नारायण विश्वकर्माले बताउनुभयो । घरबाट निस्केपछि आफूले खोजी गर्दा पनि उनी फेला नपरेको उहाँको भनाइ छ।