पशुपालक किसानहरुद्धारा नगरप्रमुखलाई ज्ञापन पत्र
माधव बेल्बासे,चन्द्रौटा-
कपिलवस्तुको शिवराज नगरपालिकाका पशुपालक किसानहरुले नगरप्रमुख नेत्रराज अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । व्यावासायिक रुपमा पशुपालन गरिरहेका किसानहरुलाई नगरपालिकाले सम्बोधन नगरेको भन्दै ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा व्यावसायिक किसानको अलग पहिचान गरि सम्वोधन हुनुपर्ने,उत्पादनमा आधारित (दुध मासु) मा अनुदानको व्यावस्था हुनुपर्ने, पशु नस्ल सुधार कार्यक्रम प्रभावकारी नभएकाले प्रभावकारी बनाउनुपर्ने माग राखिएको छ ।
व्यावसायिक किसानको लागि कम्तिमा एक जना पशु प्राविधिकको व्यवस्था गरिनुपर्ने, किसानहरुको विषयमा निति तथा कार्यक्रम बनाउँदा किसान संघको प्रतिनिधिहरु सँग छलफल गरि बनाउने व्यवस्था बनाउन नगरप्रमुखलाई ध्यानर्कषण गराइएको शिवराज पशुपालक किसान संघका अध्यक्ष राजु खरालले बताउनुभयो ।
मागका विषयमा सम्वोधन नगरिए चरणवद्ध आन्दोलन गर्ने ज्ञापन पत्रमा उल्लेख छ । ज्ञापन पत्र बुझ्दै नगरप्रमुख अधिकारीले किसानहरुका माग सम्बोधन गर्न नगर तत्पर रहेको बताउनुभयो । स्थानिय तहमा जनप्रतिनिधि आएपश्चात किसानहरुका अधिंकाश मागहरु सम्बोधन गरिएको र अब व्यावसायिक किसानहरुलाई विशेष प्राथमिकता दिने उहाँले बताउनुभयो ।
उत्पादनको आधारमा किसानहरुलाई अनुदान दिन यस वर्षमा योजना राखेको बताउँदै नस्ल सुधार कार्यक्रम प्रभावकारी बताउने प्रतिवद्धता जनाउनुभयो ।