Connect with us
Kapilvast Forest

मन्दिर संस्थापकदेखि पुजारीसम्म दलित महिला

२०७८, १९ भाद्र शनिबारमा प्रकाशित

दाङ -उनी हरेक विहान सबेरै उठ्छिन्, नुहाइधुवाई गरेर मन्दिर पुग्छिन् । धुपबत्ती सल्काएर पालैपालो नाग, शिव र गणेशको पूजा गर्छिन् अनि बिभिन्न मनोकांक्षा लिएर मन्दिर आउने भक्तजनलाई टीका लगाइदिन्छिन् । उनको दिनचर्या यसैगरी चलेको छ ।

उनी हुन्– दाङको घोराही उपमहानगरपालिका–१८, मसिनास्थित नागेश्वर पार्वती मन्दिरकी पूजारी रीता नेपाली । हिन्दुहरुको आस्थाको केन्द्र यो मन्दिरमा दलित समुदायकी उनी पुजारी बनेको एक वर्ष भयो ।

 

मन्दिर आउने हरेक जातजातिका भक्तालुहरुले उनकै हातबाट टीका ग्रहण गर्छन् । माता भनेर आशिष लिन्छन् । मन्दिरमा पूजारीको भूमिका निर्वाह गरिरहँदा कोही, कसैले जातीय छुवाछुतको कुरा गरेको तीतो अनुभव उनीसँग छैन । यो मन्दिरमा आउने भक्तजनमा ब्राहमण समुदायकै बाहुल्य छ ।

दलितलाई अछुत भनेर विभेद गरिने समाजमा दलित समुदायकी रीता नेपाली कसरी पूजारी भइन् त ? यसको उत्तर पार्वती विकसँग जोडिन्छ, जो यो मन्दिरको संस्थापक र पुजारी थिइन् ।

 

पाँच वर्षअघि पार्वती विकले सपनामा नाग देखिन् र त्यही दिनबाट बेस्सरी काम्न थालिन् । काम्दै हिँडेकी उनी मसिनामा आएर नागको पूजा गर्न थालिन् । त्यसक्रममा उनी काप्दै सर्पझैं भुइँमा घस्रन्थिन् । गाउँलेहरुलाई लाग्यो, यो त दैवी शक्ति हो । अनि उनलाई ‘माता’ मानेर मन्दिर बनाइदिन सिंगो समुदाय जुट्यो ।

‘यसरी माता पार्वतीको लागि मन्दिर बन्यो,’ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रहेका ज्ञानबहादुर रायमाझी भन्छन्, ‘समुदायबाटै आर्थिक सहयोग जुटाएर मन्दिर बनायौं ।’

उनका अनुसार, करिब २० लाख रुपैयाँ लागतमा मन्दिर तयार भएपछि पार्वती विकलाई पुजारीका रुपमा प्रवेश गराइयो । दलित माता (पार्वती) नै मन्दिरको श्रृष्टीकर्ता भइसकेपछि छुतअछुत हँुदैन भन्ने हामीलाई लाग्यो’, रायमाझी भन्छन्, ‘छुवाछुत प्रथा मान्नु हुन्न भनेर पनि दलित मातालाई मन्दिरको पुजारी बनायौं । विस्तारै सबैले स्वीकार्दै पनि गए ।’

हरेक वर्ष नाग पञ्चमी र शिवरात्रीमा दर्शनार्थीको भीड लाग्ने यो मन्दिरमा रीता नेपाली आएको तीन वर्ष भयो । सुरुमा उनी पार्वतीलाई नृत्य पूजामा सघाउँथिन् । गत वर्ष एकदिन पार्वतीलाई लाग्यो, आप्mनो ठाउँ यहाँ होइन अन्यत्रै छ । अनि उनी रोल्पाको मेरुलमा कुटी बनाएर बस्न थालिन् ।

पार्वती रोल्पातिर लागेपछि मन्दिर पुजारीविहीन भयो । त्यसपछि स्थानीय समुदायले रीतालाई मुख्य पुजारी बनायो । मन्दिर संस्थापक नै दलित माता भएकाले उनको उत्तराधिकारी अरुलाई नबनाएको व्यवस्थापन समितिका अध्यक्ष रायमाझी बताउँछन् । उनी भन्छन्, ‘जातीय छुवाछुत मान्दैनौं भन्ने सन्देश दिन पनि रीता मातालाई पुजारी बनायौं ।’

जलुकेमा लक्ष्मी नेपाली

मसिनासँग जोडिएको गाउँ जलुकेमा रहेको नाग मन्दिरमा पनि मुख्य पुजारी दलित समुदायकै महिला लक्ष्मी नेपाली छन् । उनको कथा पनि पार्वती विकको जस्तै छ ।

चार वर्षअघि उनले सपनामा नाग देवता देखिन् । त्यसपछि विपनामा पनि घरदेखि केही पर सपनाकै नाग देखिएको भन्दै पूजा गर्न थालिन् । समुदायले त्यहाँ नाग मन्दिर नै स्थापना गरे ।

मन्दिरमा करिब एकवर्ष एकजना क्षेत्री महिलाले पुजारीको काम गरिन् । त्यसपछि लक्ष्मी आफैं पुजारी बन्न अग्रसर भइन् । समुदायले पनि साथ दिएपछि तीन वर्षयता उनी नै नाग मन्दिरको मुख्य पुजारीको भूमिकामा छिन् । ब्राहमण समुदायका भक्तजनले पनि उनलाई निसंकोच मुख्य पुजारी मान्दै आएका छन् ।

 

दलित महिला भनेर आजसम्म कसैले विभेदजन्य व्यवहार नगरेको लक्ष्मी बताउँछिन् । ‘सबैले पुजारी माता भनेर मान गर्नुभएको छ’, उनी भन्छिन्, ‘मेरो हातबाट सहजै टीका–प्रसादी ग्रहण गर्नुहुन्छ ।’

भगवानको नजरमा सबै समान हो, जातभात भन्ने कुरा पछि मान्छेले बनाएको हो भन्ने कुरा पुरा समुदायले बुभ्mदा आप्mनो सेवा–भक्तिले सम्मान पाएको उनको बुझाइ छ ।

दलित समुदायका यी तीन महिला पुजारीले दाङमा ‘माता’को उपमा पाएका छन् । पार्वती विकलाई सारा समुदायले मन्दिरको संस्थापक माताको रुपमा लिएको छ ।

रीता र लक्ष्मी नेपालीलाई पनि माता सम्बोधन गरिन्छ । लक्ष्मीलाई कतिले ‘नाग माता’ त कतिले ‘पुजारी आमा’ भन्छन् ।

बदलियो समाज, उदाहरणीय मसिना

हिन्दुधर्मको पूजापाठ होस् कि मन्दिर शिलान्यास, यस्ता कार्यमा ब्राहमणहरुलाई नै अगाडि सारिन्छ । दाङको मसिनामा भने ब्राहमणले नै मन्दिर शिलान्यास पनि दलितबाटै गराउन उदाहरणीय अगुवाइ गरेका छन् ।

घोराही उपमहानगर–१८ मसिनाका गणेश बेलावासे जातले ब्राहमण हुन् । उनले आफ्नो स्वर्गीय बुबा गुमानसिंहको स्मृतिमा निर्माण हुन लागेको मन्दिरको शिलान्यास तेजबहादुर विकबाट गराए । गत साउन २६ गते भएको मन्दिर शिलान्यास समारोहमा एकजना ब्राम्हण पण्डितले मन्त्रोत्चारण गरेका थिए ।

जातका हिसाबले कोही छुत या अछुत नहुने बेलबासेको विश्वास छ । उनी धर्मका नाममा गरिने जातीय विभेदलाई विल्कुलै गलत ठान्छन् । ‘धार्मिक कार्यमा ब्राहमण नै चाहिने, अरु भए बिटुलिने भन्ने कुरा रुढ परम्पराबाहेक केही होइन’, उनी भन्छन्, ‘चोखोनितो, शुद्धाशुद्धी भए हरेक जातजातिले पवित्र धार्मिक कार्य गर्न सक्छन् ।’

छुवाछुतलगायत हरेक प्रकारका जातीय विभेदलाई राज्यका कानुनहरुले नै खारेज गरिसकेको अवस्थामा नेपाली समाजमा कुनै पनि किसिमको भेदभाव रहनुहुन्न भन्ने सन्देश दिन दलितबाटै मन्दिर शिलान्यास गराएको उनले बताए ।

मन्दिरमा दलित पूजारी राख्ने, दलितबाटै मन्दिर शिलान्यास गराउने जस्ता उदाहरणीय काम हिन्दु बहुल दाङको घोराही उपमहानगरपालिका– १८, मसिना गाउँमा भएका छन् ।

नागेश्वर पार्वती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रायमाझी मुख्य पुजारी नै दलित, त्यो पनि महिलालाई मानेपछि जातीय विभेद स्वतः खारेज भएको बताउँछन् ।

‘नेपाली समाजमा कथित दलितलाई अछुत मान्ने हिजोको कुप्रथा हो, जुन अब कम से कम मसिनामा चाही रहेन’, उनी भन्छन् ।

यो मामिलामा समाज कति अगाडि बढिसक्यो भने ब्राम्हण समाजले नागेश्वर पार्वती मन्दिरकी पूजारी रीता नेपालीलाई गत महिना सम्मानीत समेत गरेको छ ।

ब्राहमण समाजका केन्द्रीय उपाध्यक्ष जयनन्द शर्मा हिन्दु धर्मले जातीय विभेद मान्दैन भन्ने सन्देश दिन समारोह आयोजना गरेर पूजारी मातालाई सम्मान गरेको बताउँछन् ।

७२ वर्षीय शर्मा तीनै पण्डित हुन्, जसले तेजबहादुर विकबाट मन्दिरको शिलान्यास गराउँदा मन्त्र पढेका थिए । धर्म शास्त्रले जातीय विभेद नमान्ने बताउँदै उनी भन्छन्, ‘धर्मसँग जोडेर कसैलाई अवहेलना गर्ने कुरीति पछि शुरु भएको हो ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu