अर्थमन्त्री शर्माद्वारा चालु आवका लागि १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट पेस
काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गथर्नु भएको छ ।अध्यादेश बजेट ०७८ लाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै मन्त्री शर्माले सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेको बताउनु भयो ।
आन्तरिक ऋण ३७ अर्ब घटाइएको छ भने चालु तर्फको खर्च १० प्रतिशत कटौती गरिएको मन्त्री शर्माले जनाउनु भयो ।शर्माले कोभिड १९ का प्रभावित नागरिकको जीवन रक्षा र शिथिल भएको अर्थतन्त्रको पुनरुत्थानका लागि बजेट अभाव हुन नदिने बताउनु भयो । उहाँले यो विषय सरकारको उच्च प्राथमिकतामा रहेको समेत बताउनु भयो ।
अहिलेसम्म ५७ लाख ३० हजारले पहिलो मात्रा र ५१ लाखले दुवै मात्रा प्राप्त गरिसक्नु भएको छ । उहाँले अब करिब तीन करोडमात्रा खोप प्राप्त हुने क्रममा रहेको बताउनु भयो । ‘कोभिड–१९ नियन्त्रणमा स्रोतको अभाव हुन नदिन सरकार प्रतिबद्ध छ, त्यसका लागि वैदेशिक स्रोतको समेत व्यवस्था गरेको छु,’ उहाँले भन्नु भयो ।