एमाले विधान महाधिवेशनः आजै सकिने
काठमाडौँ – नेकपा एमालेको पहिलो विधान महाधिवेशन आज (आइतबार) समापन हुँदै छ । ६ हजारभन्दा बढी प्रतिनिधिका बीच शुक्रबार सुरु भएको महाधिवेशनको आजको पूर्ण सत्र बिहान ८ बजेदेखि नै सुरु हुने बताइएको छ । शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए ।
ती प्रतिवेदनमाथि छलफलका लागि शुक्रबारै १० वटा समूह गठन गरिएको थियो । त्यसमध्ये ५ समूहले छलफलपश्चत शनिबार नै आफ्नो रिपोर्ट प्रस्तुत गरिसकेका छन् । शनिबार कर्णाली प्रदेश समूह, केन्द्रीय निकाय र केन्द्रीय विभाग समूह, लुम्बिनी प्रदेश समूह, सुदूरपश्चिम समूह र बागमती प्रदेश समूहले आफ्नो समूहमा भएको छलफलको रिपोर्ट प्रस्तुत गरेका हुन् ।
उनीहरुले उपमहासचिव कायमै राख्नुपर्ने, वरिष्ठ उपाध्यक्ष र पोलिटब्यूरो समिति पनि राख्नुपर्ने माग गरेका छन् । विधान संशोधन प्रस्तावमा उपमहासचिव पद नै खारेज गरिएको छ भने अध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव र ७ सचिव रहने प्रस्ताव छ । साथै पोलिटब्युरो समिति खारेज गरेर सचिवालय बनाउने प्रस्ताव गरिएको छ । यसैगरी निर्वाचन प्रणाली महंगो भएकोले यसलाई कम खर्चिलो बनाउन एमालेले पहल लिनुपर्ने, पार्टीमा व्यक्तिलाई नभइ पार्टीप्रधान हुनुपर्ने लगायतका माग पनि उठेको छ ।
अब बाँकी ५ समूहले आइतबार सुझावसहितको निष्कर्ष पेश गर्दै छन् । आइतबार प्रदेश १ समूह, प्रदेश २ समूह, गण्डकी प्रदेश समूह, उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र प्रवास क्षेत्रबाट आएकाहरुको समूह र जनसंगठनहरुको समूहको तर्फबाट रिपोर्ट प्रस्तुत हुने छ । आजै बिहान ११ बजे पार्टी प्रवेश कार्यक्रम राखिएको छ । त्यसपछि खानाको समय हुने छ । १ बजेपछि दस्तावेज प्रस्तुतकर्ता ओली, पोखरेल र पौडेलले जवाफ दिने छन् । ४ बजे महाधिवेशन समापन गर्ने कार्यसूची राखिएको छ ।