नेपाल एयरलाइन्सको बोइङ किन्न दुई कम्पनी इच्छुक, एक बेनामे
१५ भदौ, काठमाडौं । नेपाल एयरलाइन्सले लिलाम बिक्रीमा राखेको बोइङ७५७ जहाज किन्न दुई कम्पनी इच्छुक देखिएका छन् । दुईमध्ये एक कम्पनीले भने बेनामे बोलपत्र हालेको छ ।
अर्को एक कम्पनी भने एबीएन नामक इजरायली कम्पनी रहेको निगमले जानकारी दिएको छ । नेपाल एयरलाइन्सले १२ असारमै बी७५७ जहाज बिक्री गर्न टेन्डर आहृवान गरेको थियो । ४५ दिनको समय अवधि राखेर गरिएको टेण्डर आहृवानमा कुनै पनि कम्पनी इच्छुक देखिएनन् ।
त्यसपछि दोस्रो पटक २९ साउनमा पुनः टेन्डर गरियो । १५ दिनको समय राखेर गरिएको रिटेन्डरमा २ कम्पनीको प्रस्ताव परे पनि एक प्रस्ताव भने नाम र ठेगानाबिनै परेका कारण स्वतः अमान्य भएको निगमका सहप्रवक्ता सुलेश मिश्रले जानकारी दिए । अर्को कम्पनीका सम्बन्धमा भने आइतबार टुंगो लाग्ने भएको छ ।
नेपाल एयरलाइन्सले न्यूनतम ७६ लाख ७६ हजार ७ सय ३० अमेरिकी डलर (करिब ८५ करोड १७ लाख ३३ हजार रुपैयाँ) बिक्री मूल्य निकालेर टेन्डर आहृवान गरेको थियो । यो मूल्यमध्ये सबैभन्दा बढी तिर्ने गरी आउने कम्पनीले बी७५७ ९एन-एसीबी जहाज खरिद गर्ने सक्ने प्रावधान राखिएको थियो ।दुई पटक आहृवान गरेको टेन्डरमा पनि पर्याप्त कम्पनीको आवेदन नपरेपछि अब निगमले द्विपक्षीय सम्झौताका आधारमा यसको बिक्रि सम्बन्धमा निर्णय लिन सक्छ ।निगमले अहिले बेच्न लागेको निगम ३१ वर्ष पुरानो हो । यो जहाज १५ सेप्टेम्बर १९८८ मा बनेको थियो ।