बाढीले सवा ८ अर्बको धान नष्ट
काठमाडौँ — बेमौसमी वर्षाले मुलुकभर ८ अर्ब २६ करोड ८० लाख रुपैयाँको धान क्षति भएको प्रारम्भिक अध्ययनले देखाएको छ । प्रदेशस्तरबाट प्राप्त धानबालीको क्षति विवरणअनुसार सात प्रदेशमा २ लाख ८५ हजार ५ सय ९ हेक्टरमा गरिएको धानबालीमा असर पुगेको छ । यसमध्ये ८५ हजार ५ सय ८० हेक्टर क्षेत्रफलको धानमा क्षति पुगेको छ ।
‘ती क्षेत्रफलबाट ३ लाख २५ हजार २ सय ५८ टन धान उत्पादन हुने अनुमान थियो । एक टनको २८ हजार रुपैयाँका दरले ८ अर्ब २६ करोड ८० लाख रुपैयाँ क्षति भएको देखिन्छ,’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले भने, ‘प्रदेशस्तरबाट तथ्यांक संकलनमा समन्वय र सहजीकरणका लागि सात वटै प्रदेशमा एक/एक टोली गठन गरेका छौं ।’ मन्त्रालयको विवरणअनुसार प्रारम्भिक अध्ययनले सबैभन्दा बढी क्षति लुम्बिनी प्रदेशमा पुगेको देखिएको छ ।
लुम्बिनीमा ४२ हजार ४ सय २७ हेक्टरमा लगाइएको ४ अर्ब ५१ करोड रुपैयाँको धान क्षति भएको विवरणमा उल्लेख छ । लुम्बिनीमा सबैभन्दा बढी बर्दियामा ११ हजार ५ सय ४०, कपिलवस्तुमा १० हजार ६ सय ९६, बाँकेमा ६ हजार ८ सय ७५ र रूपन्देहीमा ६ हजार ४ सय १० हेक्टरमा क्षति पुगेको छ । दोस्रोमा सुदूरपश्चिम प्रदेशमा क्षति पुगेको छ । यहाँ ५५ हजार हेक्टरमा असर गरे पनि क्षति भने १८ हजार हेक्टरमा भएको जनाइएको छ । उक्त क्षेत्रफलबाट १ अर्ब ९१ करोड रुपैयाँको धान क्षति भएको विवरणमा उल्लेख छ । सुदूरपश्चिममा पनि कैलाली र कञ्चनपुरमा बढी क्षति पुगेको छ ।
तेस्रोमा प्रदेश १ मा ८० करोड रुपैयाँको धान क्षति भएको छ । प्रारम्भिक अध्ययनमा प्रदेश १ मा ४९ हजार ९ सय ४५ हेक्टरमा असर गरेकोमध्ये ७ हजार ४ सय ९२ हेक्टरमा क्षति पुगेको उल्लेख छ । उक्त क्षेत्रफलबाट २८ हजार ४ सय ६९ टन धान नष्ट भएको छ । प्रदेश १ मा सबैभन्दा झापामा १३ हजार १ सय २५, मोरङमा ९ हजार ८ सय ९६ र सुनसरीमा ९ हजार ७ सय २ हेक्टरमा क्षति पुगेको छ ।
२०७८ भदौसम्म १७ सम्म झापामा ८७ हजार ५ सय, मोरङमा ८२ हजार ४ सय ६७ र सुनसरीमा ५३ हजार ९ सय हेक्टरमा रोपाइँ गरिएको थियो । प्रदेश १ का यी तीन जिल्लाबाहेक अन्यमा पनि सामान्य क्षति पुगेको छ । धानको मुख्य पकेट क्षेत्र प्रदेश २ मा ४८ हजार ६ सय ८४ हेक्टरमा लगाइएको धानमा असर पुर्याए पनि क्षति भने ५ हजार ३ सय ५५ हेक्टरमा भएको छ । उक्त क्षेत्रफलबाट २० हजार ३ सय ५० टन धान क्षति भएको छ । रकमका हिसाबले ५६ करोड रुपैयाँको धान क्षति भएको मन्त्रालयले जनाएको छ । प्रदेश २ का आठ जिल्लामा उक्त क्षति भएको हो । प्रदेश २ मा ४ लाख ३ हजार १ सय ६४ हेक्टरमा धान खेती भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश २ का सूचना अधिकारी मनीषकुमार पालले जानकारी दिए ।कान्तिपुर पोष्ट