दशैंमा दुई सय नयाँ बस थपिँदै, व्यवसायीमा छैन उत्साह
१९ भदौ, काठमाडौं । यो वर्षको दशैंमा लामो दुरीका लागि करिब २ सय नयाँ बसहरु थपिने भएका छन् । थपिने बसहरुको ‘बडी’ हाल विभिन्न ग्यारेजहरुमा निर्माणाधीन छन् भने कतिपय तयार भएर सरकारसँग रुट इजाजत लिने प्रक्रियामा छन् ।
हरेक वर्ष दशैंमा लामो दुरीका सवारी साधनमा यात्रुको चाप अत्यधिक बढ्छ । यसैलाई लक्ष्यित गर्दै व्यवसायीले दशैंका लागि बसहरु थप्ने गर्छन् । सार्वजनिक सवारीसाधन सबैभन्दा धेरै किनिने समय यही हो । दशैंमा थपिने नयाँ बसहरु प्रायः काठमाडौं आउजाउ गर्नका लागि नै हुन्छन् । अन्य राजमार्गका विभिन्न शहर र ग्राहमीण रुटमा पनि केही नयाँ बसहरु आउँछन् ।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल सबै यातायात कार्यालयबाट प्राप्त तथ्यांकलाई आधार मान्दा दशैंमा करिब २ सय बस थपिन लागेको बताउँछन् ।विगतका दशैंहरुमा देशभर झण्डै ५ सय सार्वजनिक बस थपिन्थे । तर, यातायात व्यवसायीका अनुसार गत वर्षदेखि नै दशैंमा थपिने बसको संख्या घटेको छ ।
व्यवसायीले विगतदेखि नै दशैंमा चलाउने गरी बस किन्ने गरेका छन् । सुरुवातमै राम्रो कमाई गर्ने ध्येयले उनीहरुले यो समय रोज्ने गरेका हुन् ।
तर, अहिले व्यवसायीहरु नयाँ बस किन्न हौसिने अवस्था नरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाको भनाइ छ । उनका अनुसार यसपटक धेरै व्यवसायीहरुले बस खरिद गर्न चासो देखाएनन् ।‘नयाँ बस नआए पनि यात्रुले सुविधा पाउँछन् । हामीसँग सवारी साधानको अभाव छैन’ सिटौला भन्छन् । उनले डेढ सयभन्दा बढि बस नथपिने दावी गरे ।
यातायात व्यवसायीहरुले यो वर्ष नयाँ बस नथपिनुमा तीन कारण औंल्याएका छन् । महासंघका अनुसार राष्ट्र बैंकले अटो ऋणको सीमा बढाउँदा त्यसको ठूलो प्रभाव सार्वजनिक यातायात विस्तारमा परेको छ ।सार्वजनिक सवारीलाई निजी सवारीकै डालोमा हालेर एउटै नीति लिँदा समस्या भएको महासचिव सिटौलाको दाबी छ ।