वर्तमान सरकार जनताको समस्या समाधान गर्न केन्द्रित छ:अध्यक्ष प्रचण्ड
ललितपुर- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार जनताको समस्या समाधान गर्ने कार्यक्रममा केन्द्रित भएको बताउनुभएको छ ।
यहाँस्थित बिहीबार नेवाः राष्ट्रिय मुक्ति मोर्चा, केन्द्रीय समितिले नेपाल सम्वत ११४२ नयाँ वर्षको उपलक्ष्यमा आयोजित ‘भिन्तुना कालबिल’ कार्यक्रममा बोल्नुहुँदै उहाँले जनताको समस्या समाधान गर्नु प्रमुख दायित्व यस सरकारको रहेकाले सोही दिशामा केन्द्रित रहेको चर्चा गर्नुभएको हो ।
पूर्व प्रधानमन्त्री पनि रहनुभएका अध्यक्ष प्रचण्डले लालपूर्जाको समस्या, स्वबासी समस्या भएका क्षेत्रमा ध्यान दिँदै सो क्षेत्रमा तत्काल सरकारले जनतालाई लालपूर्जा वितरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले गरिब उपभोक्ताको हितमा ध्यान दिँदै ऊर्जा मन्त्रालयले बीस युनिटसम्मको विद्युत महसुल निःशुल्क गरेकोमा धन्यवाद दिनुहुँदै उत्पीडित वर्ग, जाति, समुदायको लागि आफू सँधै लागिपर्ने धारणा राख्नुभयो ।
फरक प्रसङ्गमा उहाँले पहिचानसहितको संघीयताले मात्र यथार्थमा सही अर्थमा जनताको माग सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो ।
संघीयता, धर्मनिरपेक्षता, समानुपातिकतालगायतका उपलब्धीलाई धरासायी पार्ने प्रतिक्रियावादी तत्वहरुले चलखेल गरिरहे पनि सचेत जनताले त्यस्ता गतिविधिलाई निस्तेज पार्न अग्रसर हुन आह्वान गर्नुभयो ।
कार्यक्रममा ऊर्जामन्त्री पम्फा भुसाल, भूमिव्यवस्था मन्त्री शशी श्रेष्ठ, माओवादी केन्द्र वागमति प्रदेशका इञ्चार्ज हितमान शाक्यलगायतको उपस्थिति रहेको थियो ।