गगनलाई भक्तपुरबाटै ओलीको जवाफ, बाबुले भ्याकुम लाएर एमाले सिध्याउने रे…
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्याकुम लगाएर एमाले बढार्ने सपना नदेख्न कांग्रेस नेता गगन थापालाई आग्रह गर्नुभएको छ । हिजो भक्तपुरमा आयोजित कार्यक्रममा थापाले अबको निर्वाचनमा सिंगल–सिंगल भिडेर एमालेलाई बढार्ने बताउनुभएको थियो ।
त्यसप्रति आज भक्तपुरबाटै जवाफ दिँदै एमाले अध्यक्ष ओलीले कसैले चाहँदैमा एमाले पार्टी सिध्याउन नसक्ने बताउनुभयो । उहाँले एमालेलाई बढार्ने सपना देख्नुभन्दा पहिले कांग्रेस कहाँबाट कहाँ पुगिसक्यो भनेर हेक्का राख्न गगनलाई आग्रह गर्नुभयो ।
‘हिजो हो कि कहिले, एकजना बाबु घुम्दै यतै भक्तपुर आएछन् । भ्याकुम क्लिनर लिएर आएका । अनि, भ्याकुम क्लिनर लगाएर एमाले सिध्याउने रे । विचरा । सिंगै कांग्रेस कहाँ पुग्यो हेक्का छैन, एमाले भ्याकुम क्लिनरले सिध्याउने सपना तिनीहरुका’, ओलीले भन्नुभयो ।
हिजो भक्तपुरमा भाषण गर्दै थापाले एमालेलाई चुनावमा भक्तपुरबाट क्लीन स्वीप गर्ने बताउनुभएको थियो । कतै कुनाकाप्ची बाँकी रहेमा ‘भ्याकुम’ लगाएर बढार्नेसमेत उहाँको दाबी थियो । सिंगल–सिंगल भिडे तेस्रो हुने एमालेले कांग्रेसलाई चुनौती दिनै नसक्ने थापाको भनाइ थियो ।
गगन थापा लगायत कांग्रेसका नेताहरुले आगामी चुनावमा सिंगल–सिंगल भिडेर एमालेलाई बढार्ने उद्घोष गरिरहेका बेला पार्टी सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले भने चुनावमा गठबन्धन गरेर जाने संकेत गर्नुभएको छ ।
आज बेलायतबाट फर्केपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा देउवाले चुनावसम्म गठबन्धन कायमै रहने भन्दै शंका नगर्न आग्रह गर्नुभयो । सत्तारुढ गठबन्धनमा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका नेताहरुले आउने चुनावसम्म अहिलेको गठबन्धन कायमै रहने बताइरहेका छन् ।
तर कांग्रेस नेताहरु भने एक्ला एक्लै लड्नुपर्ने दबाब नेतृत्वलाई दिइरहेका छन् । केन्द्रमा गठबन्धनको सहमति गरे जिल्ला जिल्लाबाट प्रतिवाद गर्ने चेतावनी पनि कांग्रेसीहरुले दिइरहेका छन् ।