पोर्चुगलका राष्ट्रपतिद्वारा संसद् विघटन, निर्वाचन घोषणा
पोर्चुगलका राष्ट्रपतिद्वारा संसद् विघटन, निर्वाचन घोषणा
एजेन्सी पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डी सुजाले संसद् विघटनको घोषणा गर्नु भएको छ । उहाँले विहिवार संसद् विघटन गरिएको घोषणा गर्दै आगामी संसदीय निर्वाचनका लागि मितिसमेत तोक्नु भएको छ ।
राष्ट्रिय टेलिभिजनबाट प्रसारण भएको उहाँले सम्वोधनमा आगामी सन् २०२२ को जनवरी ३० मा निर्वाचन गर्नेगरी मिति तोकिएको हो ।देशमा उत्पन्न राजनीतिक सङ्कट अन्त्यका लागि अहिलेको संसदबाट समाधान ननिस्किएकाले यो संसद् विघटन गर्दै नयाँ संसद् गठनका लागि निर्वाचन गर्नु परेको उहाँले उल्लेख गर्नु भएको छ ।
सोसियलिष्ट पार्टी (पिएस)को अहिलेको सरकारले ल्याएको बजेट गत महिना संसदबाट अस्विकृत भएपछि पोर्चुगलको राजनीतिक सङ्कट नयाँ मोडमा पुगेको हो । पोर्चुगलको संसदीय इतिहासमा ४५ वर्षपछि पहिलो पटक अहिले मात्रै संसदबाट बजेट अस्विकृत भएको अधिकारीले जनाउनु भएको छ ।
संसदबाट बजेट अस्विकृत गरेमा संसद् विघटन गरी निर्वाचनको घोषणा गरिदिने चेतावनी राष्ट्रपति सुजाले यसअघि नै दिँदै आउनु भएको थियो । वर्तमान राजनीतिक सङ्कट समाधानका लागि संसद् विघटन गरी निर्वाचन घोषणा गर्नुको अर्को विकल्प नभएको उहाँको भनाइ छ ।