सर्लाहीमा भारतीय सवारीसाधनको तथ्यांक संकलन गरिने
सर्लाही-प्रहरीले सबै प्रकारका भारतीय नम्बर प्लेटका सवारीसाधनको तथ्यांक संकलन गर्ने भएको छ । सवारी दुर्घटना न्यूनीकरण तथा गैरकानूनी धन्दा न्यूनीकरण गर्न प्रहरीले भारतीय नम्बर प्लेटका सवारीसाधनको तथ्यांक संकलन गर्न लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनु भयो ।
उहाँका अनुसार छठ पर्व सकिएलगत्तै सबै प्रकारका भारतीय नम्बर प्लेटका सवारीसाधनको विवरण संकलन गरी त्यस्ता सवारीसाधन कहाँ र कसले सञ्चालन गरिरहेको छ, त्यसको विवरण संकलन गर्ने काम हुनेछ ।
यसैगरी कार्यालयले जिल्लालाई घुमुवा प्रहरीरहित जिल्ला पनि बनाएको छ । घुमुवा प्रहरीले जिम्मेवारीअनुसारको काम नगरेर संगठनकै बदनाम गर्न थालेकाले आपराधिक गतिविधि र अन्य घटनाको सूचना संकलनका लागि परिचालित यस्ता घुमुवा प्रहरी हटाइएको प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताउनु भयो ।
उहाँका अनुसार अनौपचारिक पोशाकमा कार्यरत प्रहरीले आचारण विपरीत काम गर्दै संगठनकै बदनाम गराउन थालेकाले हटाइएको हो । ‘जिल्लाबाट मातहतका युनिटमा खटाइएका चार यस्ता प्रहरीले सूचना दिनेभन्दा बढी बदनाम गर्ने काम गरे, म आएपछि उनीहरुलाई हटाइसकेको छु,’ उहाँले भन्नु भयो ‘अब कुनै घटना भए घटनाको प्रकृतिअनुसार जिल्ला र मातहतका युनिटबाटै विशेष प्रहरी टोली परिचालन हुनेछ ।’
स्थानीयवासी, तालुक कार्यालय, सञ्चारकर्मी लगायतबाटै सूचना लिएर शान्ति सुरक्षा कायम गर्दै आपराधिक गतिविधि नियन्त्रणका लागि काम गर्ने योजना बनाइएको प्रहरी उपरीक्षक प्रसाईंले बताउनु भयो । उहाँका अनुसार यसअघि अनौपचारिक रूपमा खटाइएका प्रहरीलाई पोशाक लगाएरै नियमित डिउटीमा लगाइसकिएको छ ।