राष्ट्रपतीय प्रणाली लागू नभएसम्म सरकार स्थिर बन्न सक्दैन: बाबुराम भट्टराई
गोरखा – जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू नभएसम्म देशमा स्थिर सरकार बन्न नसक्ने बताउनु भएको छ ।
गोरखाको शहीद लखन गाउँपालिकाको घैरुङमा मंगलबार आयोजित जनभेटघाट कार्यक्रममा डा भट्टराईले अहिलेको शासन प्रणालीले देशमा जति सरकार बने पनि स्थिर सरकार बन्न नसक्ने बताउनु भएको छ ।
‘संविधानसभाबाट संविधान बनाए पनि देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली नभएसम्म स्थिर सरकार बन्दैन’, उहाँले भन्नु भयो , ‘जबसम्म योग्य मान्छे, योग्य समूह सबै छानेको प्रतिनिधिले नेतृत्व लिँदैन, त्यो नभएसम्म देशमा सही अर्थमा लोकतन्त्र पनि आउँदैन र विकास र समृद्धि पनि हुँदैन।’ उहाँले असल व्यक्ति नआएसम्म देशमा परिवर्तन सम्भव नहुने बताउनु भयो ।
उहाँले माओवादीलगायतका दलहरुले अहिलेको संविधानमा सबैथोक पुग्यो भन्नु यथार्थ नभएको भन्दै अहिलेको संविधान पूर्ण नभएको बताउनु भयो ।