Connect with us
Kapilvast Forest

दिल्लीमा वायु प्रदूषण‚ लकडाउन गर्न अदालतको सुझाव

२०७८, २८ कार्तिक आईतवारमा प्रकाशित

एजेन्सी-भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा दुई दिन लकडाउन गर्न सुझाब दिएको छ। केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदूषणको मात्रा न्यूनीकरण गर्नका लागि लकडाउन गर्न अदालतले शनिबार सुझाब दिएको हो।

भारतका प्रधानन्यायाधीश एन.भी रमण, न्यायाधीशहरू डी.वाई चन्द्रचुडा र सूर्यकान्तको इजलाशले दिएको सुझाबको अहिले निकै चर्चा भएको छ, ‘हावाको गुणस्तर मापक सूचकांकलाई ५०० बाट कम्तीमा २०० मा झार्नुपर्नेछ। त्यसको लागि एउटा राम्रो उपाय दुई दिने लकडाउन हुन सक्छ,’ सुझाबमा उल्लेख गरिएको छ।

मानिसको स्वास्थ्यका लागि लकडाउन आवश्यक भएकाले त्यसतर्फ सोच्न सकिन्छ ? भन्ने प्रश्न पनि न्यायाधीशहरूले गरेका छन्। लकडाउनलाई अदालतले तत्कालीन उपायको रूपमा मात्रै लिन आग्रह गर्दै दीर्घकालीन रूपमा समस्याको समाधान गर्ने उपाय भने अरू नै अपनाउनुपर्ने उल्लेख गरेको छ। अदालतले अति प्रदूषण भएकाले अहिले बालबालिकाहरूलाई घरबाहिर निस्कन दिनु वा विद्यालय आवतजावत गराउन पनि पुनर्विचार गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराएको छ। चिकित्सकहरूले वायु प्रदूषणले बालबालिकाको स्वास्थ्यमा गम्भीर र दीर्घकालीन असर पर्ने भएकाले त्यसतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

विज्ञ तथा सरोकारवालाहरूले प्रदूषणबाट बालबालिकाहरूलाई दीर्घकालीन असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। वायु प्रदूषणको असर बालबालिकाहरूमा अहिलेभन्दा पछि बढी देखिने सर गंगाराम अस्पतालका डा. धीरेन गुप्ताको भनाइ छ। ‘बालबालिकामा प्रदूषणको असर अहिले के देखिएको छ र ? त्योभन्दा बढी असर त पछि देखिन्छ। त्यसैले यो धेरै गम्भीर र दुरगामी समस्या हो,’ उनले भने।  बालबालिकामा यसले पार्ने असरका बारेमा चिन्ता, चासो र गाम्भीर्यता अधिकांशमा नदेखिनु अर्को चिन्ताको विषय भएको उनको टिप्पणी छ।

विशेष गरेर बालबालिकामा श्वास प्रश्वाससँगै मानसिक समस्या पनि देखिन सक्ने उनले बताए। साथै आँखा पिरो हुने र घाँटी चिलाउने असर तत्काल नै देखिएको र त्यस्ता बिरामीहरूको संख्या अत्यधिक धेरै रहेको उनले जानकारी दिए।

नयाँ दिल्लीमा दीपावलीका पटाकाहरूका कारण अघिल्लो शुक्रबारदेखि वायु प्रदूषण फेरि खतरनाकपूर्ण अवस्थामा पुगेको छ। पटकाको प्रयोगमा प्रतिबन्ध लगाइए पनि सहरभरि मानिसहरूले तिहारका वेलामा राति अबेरसम्म पटकाहरू पट्काएका कारण आकाश नै धुम्म परेको अधिकारीहरूको भनाइ छ। सवारीसाधन, औद्योगिक उत्सर्जन, धुलो र मौसमका कारण पछिल्ला केही वर्षदेखि भारतको नयाँ दिल्ली विश्वको सबैभन्दा प्रदूषित राजधानीको रूपमा चिनिँदै आएको छ। हिउँदमा छिमेकी राज्यहरूमा जलाइएका परालहरूका धुवाँका कारण पनि दिल्लीको वायु विषाक्त बन्ने गरेको छ।

सरकारी वायु गुणस्तर मापन अधिकारीहरूले त्यहाँको प्रदूषण कणको ३५ प्रतिशत जलाइएका परालहरूका कारण भएको र त्यो बढ्दै जाने अनुमान गरेका छन्। दिल्ली मात्रै नभएर भारतका अरू पनि धेरै सहरहरू अति प्रदूषित सहरमा पर्दछन्। संसारका सबैभन्दा धेरै प्रदूषित ३० सहरमध्ये २२ वटा सहर भारतमै रहेका छन्। भारतका प्रदूषित वायुका कारण बर्सेनि १० लाख मानिसको मृत्यु हुने विभिन्न तथ्यांकहरूले देखाएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu