महासचिवमा मेरो दाबी छ : एमाले सचिव गुरुङ
काठमाडौं-एमाले सचिव पृथ्वी सुब्बा गुरुङले महासचिवमा आफ्नो दाबी रहेको बताउनु भएको छ । नवौं महाधिवेशनबाट सचिवमा निर्वाचित भएकाले महासचिवमा उम्मेद्वारी दिने बताउनु भएको हो ।
उहाँले पार्टीमा छलफल हुन बाँकी रहेकाले त्यसपछि घोषणा गर्ने धारणा राख्नु भयो । ‘म नवौं महाधिवेशनबाट निर्वाचित सचिव हुँ। फेरि सचिव दोहोर्याउने कुरा भएन।’ उहाँले भन्नु भयो , ‘पार्टीको महासचिव भएर काम गर्ने मन छ।’
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका गुरुङले महासचिव भए पार्टीलाई कस्तो बनाउने, कसरी अगाडि लैजाने भन्ने योजना र कार्यक्रम आफूसँग भएको बताउनु भयो।
गुरुङले अध्यक्ष केपी शर्मा ओलीले मूल्यांकन गरेर अगाडि बढाउने विश्वास व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो ‘मैले चाहँदैमा मात्र पुग्दैन। पार्टीमा छलफल हुन बाँकी छ। पार्टीका साथीहरूलाई कसलाई कहाँ राख्ने, नेताहरूको व्यवस्थापन कसरी गर्ने भन्ने अध्यक्षको कुरा हो। मुख्य भूमिका अध्यक्षको रहन्छ।’
गुरुङले गुनासो मात्र बोकेर नभई कसरी एकताबद्ध हुन सकिन्छ भनेर लाग्नुपर्ने अहिलेको आवश्यकता भएको टिप्पणी गर्नु भयो । उहाँले एमाले एकताबद्ध भएर लाग्दा एमालेलाई कुनै शक्तिले ढलाउन नसक्ने स्पष्ट पार्नु भयो । महाधिवेशनमा गुट उपगुट बन्दा पार्टीमा फेरि नराम्रो स्थिति सिर्जना हुने भएकाले सहमतिमा अगाडि बढ्ने तयारी भइरहेको उहाँको भनाई छ।
महाधिवेशनपछि चुनाव केन्द्रित
गुरुङले स्थानीय तहको चुनाव अगाडि नै महाधिवेशन गरेर पार्टीलाई वैचारिक, सांगठनिक र मनोवैज्ञानिक रूपले एकताबद्ध बनाउन खोजेको धारणा राख्नु भयो । एकताबद्ध पार्टीसँग कसैले पनि सामना गर्न नसक्ने उहाँको दाबी छ।
‘एकताबद्ध पार्टीसँग कसैले पनि सामना गर्न सक्दैनन्। त्यसपछि हामीलाई पराजय गर्ने कुनै शक्ति नै हुँदैन।’ उहाँले भन्नु भयो , ‘अरूलाई पराजय गर्ने मनोबलका साथ महाधिवेशनबाट ऊर्जा लिएर चुनावमा पनि जान्छौ। एमालेमा हिजोदेखि जुन विजयको विरासत थियो, अब बढोत्तरी गर्नुपर्छ भन्ने मनोविज्ञानका साथ महाधिवेशन सम्पन्न गर्छौं।एमालेको १० औं महाधिवेशन मङ्सिर १०, ११ र १२ गते चितवनमा हुँदैछ।